पीडित पाकिस्तानी परिवारले माफी दिने भएपछि साउदी अरवमा भयो उमेशको जीवनरक्षा

Posted on: April 26, 2018 | views: 217

काठमाडौं– साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएका धनुषाका उमेश यादवलाई पाकिस्तानका पीडित परिवारले माफी दिएपछि उनको जीवन रक्षा हुने भएको छ । विगत १२ वर्षदेखि साउदी अरवको जेलमा रहेका यादवलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाइएको थियो । यादवको जीवन रक्षाका लागि पाकिस्तानी पीडित परिवारसँग क्षमापत्रका लागि सामाजिक अभियन्ता सरोज राय पाकिस्तान पुगेपछि उमेश र उनका परिवारका लागि यस्तो सुखद समाचार आएको हो । 

पीडित परिवारले माफी दिए यादवको मृत्युदण्डको सजाय माफ हुनसक्ने साउदी कानूनले नेपाललाई जानकारी गराएलगत्तै विभिन्न प्रयासमार्फत अभियन्ता रायले पाकिस्तान पुगेर पीडित परिवारसँग आममाफीका लागि आग्रह गरेका थिए । पाकिस्तानी पीडित परिवारले यादवलाई माफी दिएको कुरा अभियन्ता रायले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । यद्यपि उनले थप कुरा भने नेपाल फर्किसकेपछि मात्रै बताउने जनाउ दिएका छन् । 


उनले पीडित परिवारसँग भेट भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाकिस्तानी परिवारले माफी दिएर ठूलो इन्सानियत देखाएको छ जसको लागि हामी सम्पूर्ण नेपाली सदा आभारी रहने छौं । अब थोरै मानवता नेपालीहरूले पनि देखाउने बेला आएको छ । पीडित परिवारलाई हामी सबैले आर्थिक सहयोग गरेर मद्दत गरौं । भोलि अधिकारिक कागजात र मंजुरनामा पश्चात मात्र थप कुराको खुलासा गर्नेछु ।’ 

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका यादवलाई पाकिस्तानी नागरिकको हत्या अभियोगमा त्यहाँको अदालतबाट मृत्युदण्डको फैसला सुनाइएको थियो । बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो । सुरुमा अदालतबाट ११ बर्ष जेल सजायको फैसला भएपनि पछि पुनः जनरल कोर्टले यादवलाई मृत्युदण्डकै फैसला सुनाएको थियोे ।

मृतकका परिवारबाट सजाय माफ भए पनि कानुनी प्रक्रिया भने पूरा गर्न बाकी रहेको बताउँदै रायले दूतावासको पहलमा छिट्टै सबै प्रक्रिया पूरा गरिने जानकारी दिएका छन् । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com