५० कामदारबाट नौ लाखका दरले ठगी गर्ने मेनपावर कम्पनीलाई उन्मुक्ति

Posted on: August 11, 2017 | views: 401

काठमाडौं, २७ साउन २०७४– सेक्युरिटी गार्डको काम लगाउने भन्दै ५० कामदारबाट प्रतिव्यक्ति नौ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने धुम्बाराहीस्थित एसआरएस ओभरसिजलाई वैदेशिक रोजगार विभागले कारबाही नै नगरी छाडेको छ । म्यानपावर सञ्चालक सुभद्रा बरालविरुद्ध प्रमाणसहित उजुरी गरेको भए पनि विभागका कर्मचारीले दोषीलाई कारबाही गर्नुको साटो उसैको पक्षमा लागेर मिल्न बाध्य पारेको पीडितहरूको गुनासो छ ।

म्यानपावरले मासिक चार हजार दिराम अर्थात् एक लाख २० हजार रुपैयाँसम्म आम्दानी दिलाइदिने भन्दै उनीहरूलाई ०७३ असोजमा दुबई पुर्याएको थियो । दुबईस्थित हमाया सेक्युरिटी सर्भिस कम्पनीमा सुरक्षा गार्डको काम गर्न लगिएका उनीहरूलाई ६ महिनासम्म त्यहाँस्थित माजुमत लेबर क्याम्पमा अलपत्र राखिएको थियो । यसरी अलपत्र परेपछि उनीहरूले २५ फागुन ०७३ मा युएईस्थित दूतावासलाई उद्धार गर्न र म्यानपावरबाट क्षतिपूर्ति दिलाइदिन निवेदन दिएका थिए । दूतावासको पहलमा ४३ जना पीडित आफ्नै खर्चमा नेपाल फर्किन सफल भए । बाँकी सातजना भने न्यून तलबमै दुबईको एक कम्पनीमा काम गरिरहेका छन् ।

म्यानपावर सञ्चालिका बरालविरुद्ध ४३ जनाले तीन करोड ३८ लाख ७२ हजार रुपैयाँ ठगी गरेको भन्दै पीडितहरूले क्षतिपूर्तिका लागि ६ चैत ०७३ मा सामूहिक रूपमा विभागमा उजुरी दर्ता गराएका थिए । दुबई जान उनीहरूले व्यक्तिगत सात लाखदेखि नौ लाख रुपैयाँसम्म म्यानपावरलाई बुझाएका थिए । उजुरी दर्ता भएको एक सातामै विभागले बरालविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । मुद्दा दर्ता भएको थाहा पाएलगत्तै सञ्चालक बराल भने म्यानपावर नै बन्द गरेर फरार भएकी थिइन् । विभागमा उजुरी परेको पाँच महिनापछि प्रहरीले २३ साउनमा बुढानीलकण्ठस्थित आफ्नै निवासबाट बराललाई पक्राउ गरेको थियो । तर, विभागले सोमबार नै नाटकीय ढंगले ‘नक्कली मिलापत्र’ गरी उनलाई छाडेको छ ।

पीडितहरू के भन्छन् 

विभागमा उजुरी दिएका पीडितहरू भने क्षतिपूर्ति पाएको झुटा कागजमा हस्ताक्षर गर्न लगाइएको बताउँछन् । आफूहरूलाई बाध्य बनाएर म्यानपावरमा बुझाएको पैसा र क्षतिपूर्तिबापत १३ लाख रुपैयाँ बुझेको कागजमा हस्ताक्षर गर्न लगाइएको एक पीडितले बताए । ‘हामी सबैलाई एक लाख नगद र चार लाखको उधारो चेक दिइएको छ,’ उनले भने । उड्नुभन्दा अगाडि अधिकांशलाई म्यानपावरले पैसा बुझाएको रसिद दिएको थिएन ।

फ्री भिसा फ्री टिकट उल्लंघनमा विभाग मौन

मन्त्रीस्तरीय निर्णयबाट २१ असार २०७२ देखि खाडी तथा मलेसिया जाने कामदारलाई लागि फ्री भिसा फ्री टिकटको व्यवस्था लागू भएको छ । त्यसअनुसार म्यानपावरहरूले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र कुवेत जान टिकट र भिसाबापत कामदारबाट रकम उठाउन पाउँदैनन् । तर, एसआरएस म्यानपावरले एकै व्यक्तिबाट नौ लाख रुपैयाँसम्म उठाएको पाइएको छ । यस विषयमा विभागसँग बुझ्दा दुवै पक्षलाई मिल्न लगाई दोषीलाई उन्मुक्ति दिएको पाइएको समाचार नयाँपत्रिका दैनिकले लेखेको छ । 

म्यानपावर सञ्चालक सुभद्रा बराल

हामीले कामदारबाट कुनै पैसा लिएका छैनौँ । दुबई गएपछि सम्बन्धित कम्पनीको आर्थिक अवस्था बिग्रिएर उनीहरूले भनेको काम पाएनन् । पाँच महिनासम्म अलपत्र परेपछि त्यसको क्षतिपूर्ति रकम दिएर मिलापत्र भएको हो ।

क्षतिपूर्तिमा एक लाख दिएर १३ लाखको कागज

वैदेशिक रोजगार विभागले म्यानपावरलाई प्रतिकामदारबाट उठाएबराबरको रकम र क्षतिपूर्तिबापत थप त्यसको ५० प्रतिशत जरिवाना दिन लगाएको थियो । सोहीअनुसार दुवै पक्षबीच मिलापत्र भएको विभागका अनुसन्धान अधिकृत पूर्णबहादुर थापाको दाबी छ । ‘उहाँहरूले क्षतिपूर्तिबापत रकम पाइसक्यौँ भन्दै मिलापत्र गर्न आएपछि त्यसको सनाखतसमेत भइसकेको छ,’ उनले भने । तर, विभागमा देखाउनकै लागि मात्र सहमतिपत्र तयार पारिएको कर्मचारीहरूको भनाइ छ ।

तर, विभागकै कर्मचारीको पहलमा म्यानपावर सञ्चालक र पीडित पक्षबीच बाहिर अर्को सम्झौता गराइएको पत्ता लागेको छ । सम्झौतापत्रमा पीडित पक्षले जनही एक लाख नगद र चार लाख रुपैयाँको एभरेस्ट बैंकको चेक १५ जनालाई दिएको उल्लेख छ । त्यससँगै सम्बन्धित कागज तथा रसिदसमेत सोही दिनबाट बदर गरिने विषय सहमतिपत्रमा खुलाइएको छ । सहमतिपत्रमै प्रतिव्यक्ति आठ लाख १० हजार रुपैयाँ म्यानपावर कामदारहरूले बुझाएर दुबई गएको स्पष्ट लेखिएको छ ।

गल्ती गरेको भए कारबाही गर्छुः श्रममन्त्री

वैदेशिक रोजगारीसम्बन्धी जानकारी नभएर विदेशमा काम गर्न जाने धेरैजसो कामदारले दुःख पाएका छन् । न्याय माग्ने ठाउँमा पीडक म्यानपावर र ठगहरू बलिया छन् भने पीडित कामदारको आवाज कमजोर छ । पीडितलाई न्याय दिनु हाम्रो दायित्व हो । हिजो के थियो, त्यो बेग्लै कुरा हो, अब पुरानो परिपाटीले चल्दैन । न्यायिक जिम्मेवारीसमेत भएको विभाग अब पीडितको पक्षमा उभिनुपर्छ । गल्ती गर्ने छुट कसैलाई पनि छैन । दोषी भेटे कारबाही गर्छु ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com