रामेछाप । पटक–पटक परेको चट्याङबाट वर्षेनी धेरै धनजनको क्षति हुनथालेपछि रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे गर्ज्याङमा बसोवास गर्ने नागरिकहरु कसरी जोगिने भन्ने उपाय खोज्न थालेका छन् ।
तीनवर्ष भित्रको अवधिमा परेको चट्याङका कारण त्यस क्षेत्रमा ३ जना नागरिकहरुले अकालमा ज्यान गुमाउनु पर्यो । त्यस्तै चट्याङ लागेर २५ जना भन्दा वढी नागरिकहरु घाइते भए भने घरमा पालिएका ५० भन्दा बढी चौपाया समेत मरे । यसरी वर्षेनी पर्ने चट्याङ धेरै धनजनको क्षती हुन थालेपछि त्यसबाट जोगिन त्यस क्षेत्रका नागरिकहरु विभिन्न उपायहरु अपनाउन थालेका छन् ।
उत्तरी क्षेत्रको हिमाली काखमा पर्ने गोकुलगंगा गाउँपालिकाको चुचुरे–१ गज्र्याङ्गमा वसोवास गर्दै आएका १७ घरधुरी परिवारहरुले आफु बच्न र घरमा पालिकाएका चौपायाहरुलाई बचाउन अहिले प्रत्येक घरघरमा अर्थिङ्ग राख्न राख्ने अभियान शुरु गरेका हुन् । भुकम्पपछि पुनर्निमार्ण भएका अधिकासं भवनमा अर्थिङ्ग राख्न शुरु गरिएको गोकुलगंगा गाउँपालिका–१ चुचुरेका पदमराज कार्कीले जानकारी दिए ।
उनले भने– हिमाली क्षेत्र भएकै कारण वढी मात्रामा चैत्र देखी कार्तिक महिनासम्म हावाहुरी चल्ने, गड्याङगुडुङ हुने र चट्याङ पर्ने गर्दा नागरिक र चौपायाको वर्षेनी क्षती हुन थाले । अर्कोतिर घरमा राखिएका उपकरणहरु टिभी, मोवाइल, विद्युत मिटर बक्स जस्ता लाखौ मूल्य वरावरका सामाग्रीहरु समेत जलेर नष्ट हुन थालेपछि त्यसवाट बच्न सकिन्छ की भनेर घरघरमा अर्थिङ राख्न शुरु गरिएको बताए ।
केही वर्ष पहिला एक गैरसरकारी संस्थाले अर्थिङ्ग राख्न आर्थिक तथा प्राविधिक सहयोग उपलव्ध गराएको थियो । त्यस अभियानमा केही घरमा राखिएको अर्थिङले केही राहातको महसूस गरेपछि अहिले सवै घरमा आफ्नै लगानीमा अर्थिङ राख्न शुरु गरिएको हो ।
सवैभन्दा वढी मात्रामा चुचुरे क्षेत्रमा चट्याङ, वाढी पहिरो र वर्षातमा वढी मात्रामा वर्षात हुने भएकाले यसवाट जोगिन केही संघसंस्थाले सहयोग गरेपनि यो अपुग भएकाले चुचुरे भरिनै घरघरमा अर्थिङ्ग राख्न थप सहयोग उपलव्ध गराउनु पर्ने गोकुलगंगा गाउँपालिका–१ चुचुरेका निर्वतमान वडा अध्यक्ष मणिकुमार लामाले वताए ।
चुचुरेका नागरिकहरु आफ्नो घरमा राखिएको अर्थिङ्गले घरमा वसेको समयमा त विपदवाट जोगिन सक्ने भएपनि विद्यालयमा जाने आफ्ना नानीवावुहरु भने असुरक्षित रहेको भन्दै स्थानियहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले घरमा राखेको जस्तै अर्थिङ्ग विद्यालय, स्वास्थ्य चौकी, विद्युत शव स्टेशन लगाएको क्षेत्रमा पनि राख्नु पर्ने माग स्थानियहरुले गरेका छन् ।