रुस विश्वकप २०१८ : समूह ‘ए’ बाट रुस र उरुग्वे नकआउट चरण्मा

Posted on: June 21, 2018 | views: 84

काठमाडौं– रुसमा जारी विश्वकप २०१८ को समूह ‘ए’ बाट आयोजक राष्ट्र रुस र उरुग्वे नकआउट चरणमा पुगेका छन् । बुधबार उरुग्वेले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट अन्तिम १६ मा पुगेको हो । बुधबार साँझको खेलमा टिम उरुग्वेलाई लुइस स्वरेजले २३औं मिनेटमा निर्णायक गोल गरेका थिए । साउदी अरेवियाले अघिल्लो खेलमा रुससँग ५–० गोलअन्तरको हार व्यहारेको थियो । 

उरुग्वेको कठिन जितले साउदी अरेयिबासँगै इजिप्ट पनि अन्तिम खेल अघि नै विश्वकपको समूह चरणबाट बाहिरिने पक्का भएको छ । योसँगै अब रुस र उरुग्वेको खेलले समूह विजेताको टुंगो लाग्नेछ । 

मोरक्को विश्वकपबाट बाहिरिने पहिलो टिम

यसैबीच २०१८ फिफा विश्वकपमा लगातार दोस्रो खेलमा पराजय भोगेसँगै अफ्रिकन टिम मोरक्को समूह चरणबाटै बाहिरिएको छ । मोरक्को बुधबार भएको समूह ‘बी’ को खेलमा पोर्चुगलसँग १–० गोलअन्तरले पराजित भएसँगै समूह चरणबाटै बाहिरिने पहिलो टिम बनेको हो । यसअघि मोरक्को पहिलो खेलमा इरानसँग १–० गोलअन्तरले पराजित भएको थियो । अब अन्तिम खेलमा स्पेनविरुद्ध जित हात पारेपनि मोरक्कोलाई अन्तिम १६ मा पुग्ने बाटो बन्द भइसकेको छ । 

समूह ‘बी’ अन्तर्गत बुधबार राती भएको स्पेन र इरानबीचको खेलमा स्पेनले इरानलाई १–० गोलअन्तरले पराजित गरेको छ । स्पेनले प्राप्त गरेको यो जितसँगै समूह चरणको अन्तिम खेलहरु थप रोमान्चक हुने देखिएको छ । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com