विश्वकपको कठिन मोडमा अर्जेन्टिना

Posted on: June 22, 2018 | views: 189

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह डि मा रहेको अर्जेन्टिनाले समूह चरणको दुई खेल खेलिसक्दा उसले आफूलाई विश्वकप उपाधिको दाबीलाई बलियो बनाउन सकेन । बिहीबार राती भएको उसको दोस्रो खेलमा क्रोएसियासँग अपत्यारिलो नतिजा हात लागेपछि अर्जेन्टिनाले आफ्नो दाबीलाई जोगान नसक्ने अवस्थामा पुगेको हो । उक्त खेलमा अर्जेन्टिनाले क्रोएसियासँग ३–० गोलअन्तरले पराजित भएको छ । क्रोयसियाका खेलाडीका अगाडि आफूलाई फुटबलको ‘किङ्ग’ भनेर चिनाउने अर्जेन्टिनाका कप्तान तथा ‘गोल मेसिन’ उपनामले समेत चिनिने लियोनल मेस्सी निरीह सावित भएका छन् । 


खेलको अहिलेसम्मको नतिजासँगै क्रोएसियाले ऐतिहासिक जित हात पार्दा अर्जेन्टिना भने कठिन मोडमा आईपुगेको छ । पहिलो खेलमा विश्वकपमा डेब्यु टिम आइसल्याण्डविरुद्ध १–१ गोलको बराबरी खेलेको अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्न सक्छ कि सक्दैन त्यो धेरैको चासोको विषय बनेको छ । अब अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्दै छ । यो खेलले निकै ठूलो भूमिका खेल्नेछ । समूह डि अन्तर्गत नाइजेरिया र आइसल्याण्डबीचको खेलमा दुबै टिमले बराबरी खेले अर्जेन्टिनालाई फाइदा हुनेछ ।


अर्जेन्टिनाको अहिले २ खेलबाट एकमा हार र एक खेलमा बराबरी खेल्दै १ अंक छ भने ४ गोल खाएको छ र एक गोल मात्रै फर्काएको छ । यस्तो अवस्थामा अर्जेन्टिना नकआउट चरणमा पुग्न निकै कठिन पर्नेछ ।


आइसल्याण्डविरुद्धको खेलमा पेनाल्टी नै मिस गरेका मेस्सीबाट थप प्रदर्शनको आशा अर्जेन्टिनाले गरेको छैन । त्यसो त प्रशिक्षक जर्ज साम्पाओलीले मेस्सीलाई साथ खेलाडी टिममा नभएकोले खेलमा अप्रत्याशित नतिजा हात लागेको स्वीकार गरिसकेका छन् । उनले विश्वकपमा अर्जेन्टिनी टीमले गरेको खराब प्रदर्शनलाई लिएर दर्शकहरुसमक्ष माफीसमेत मागिसकेका छन् । अर्जेन्टिनाले बिहीबार राती भएको क्रोएसियाविरुद्धको खेलमा आशातित आक्रमक खेल खेल्नै सकेनन् ।


तर प्रशिक्षक साम्पाओलीले मेस्सीको बचाउ गरेपनि दर्शक र समर्थकहरु भने उनको कुरा मान्न तयार छैनन् । मेस्सीले नै यो पटकको विश्वकप खेलमा आशा गरिएअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन् । 


यसअघि सन् २०१६ मा कोपा अमेरिका कप फुटबलको फाइनलमा चिली विरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिना पराजित हुँदा मेस्सीले पेनाल्टी मिस गरेका थिए । फाइनलमा चिलीसँग हार्नु र पेनाल्टीमा चुक्दा कप्तान मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणा गरेका थिए । तर अजर्जेन्टिनाका राष्ट्रपतिदेखि सबैको दबाबमा मेस्सीले सन्यास फिर्ता लिएका थिए ।


मेस्सीलाई विश्वकप फुटबलको उपाधि दिलाउने यो अन्तिम मौका हो । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सी आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल रहेका थिए । सन् २०१४ को विश्वकपमा अर्जे्न्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com