फ्रान्सलाई दोस्रो पटक विश्वकप फुटबलको उपाधि

Posted on: July 15, 2018 | views: 152

काठमाडौं– फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को आइतबार भएको  फाइनल खेलमा क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै फ्रान्सले २० वर्षपछि दोस्रोपटक उपाधिमा कब्जा जमाएको हो । यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो पटक उपाधि जितेको थियो ।


ब्राजिल, अर्जेन्टिना र पोर्चुगलजस्ता फुटबलको पावरहाउस मानिने देशहरु यो प्रतियोगिताको विभिन्न चरणबाटै बाहिरिएपछि कुनै उदयीमान नयाँ देशले उपाधि जित्ने अपेक्षा गरिरहेकै बेला फ्रान्सले दोस्रोपटक उपाधि जितेपछि फ्रान्ससँग फाइलन खेल खेलेको क्रोएसिया भने स्तब्ध बनेको छ । फुटबलका बलिया टिमलाई पराजित गर्दै ऐतिहासिक रुपमा फाइनलसम्मको यात्रा तय गरेको क्रोएसियाले उपाधिमाथि आफ्नो दाबी प्रस्तुत गर्दै फाइनल खेलमा उत्रिएको थियो । यद्यपि उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पनि नतिजा भने फ्रान्सको पोल्टामा पुगेको छ । योसँगै क्रोएसियाको उपाधि जितेर नयाँ च्याम्पियन बन्ने लक्ष्य अधुरै रहन पुगेको छ । 


खेलको १८ मिनेटमा फ्रान्सले अग्रता लियो । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिकले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सलाई फाइदा पुगेको थियो । डिबक्स बाहिर पाएको फ्रिकिकमा एन्टोनी ग्रिजम्यानले हानेको प्रहारलाई छेक्ने क्रममा मान्जुकिकको हेडर आफ्नै पोस्टमा छिरेको थियो । मान्जुकिक विश्वकपको फाइनलमा आत्मघाती गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् । 

२८ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्काउन सफल भयो । डिबक्सभित्र डिफेन्डर भिडाले दिएको पासमा इभान पेरिसिकले उत्कृष्ट फिनिसिङ गर्दा क्रोएसियाले खेललाई १–१ को अवस्थामा ल्याएको थियो । विश्वकप २०१८ मा पेरिसिकको त्यो तेस्रो गोल थियो । 

३८ मिनेटमा फ्रान्सले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो । यसपटक पनि फ्रान्सले गोल गर्न क्रोएसियाकै खेलाडीको गल्तिको फाइदा उठायो । कर्नर बलमा पेरिसिकले ह्यान्ड गरेपछि रेफ्रीले भिएआर रिभ्यूमार्फत पेनाल्टी दिने निर्णय गरेका थिए । पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गर्दा पहिलो हाफमा फ्रान्स २–१ ले अघि रहन पुगेको थियो । 


५९ मिनेटमा फ्रान्सले तेस्रो गोल गर्न सफल भयो । पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे । पोग्बाले डिबक्स बाहिरबाट लोभलाग्दो गोल गरेका थिए । उनको पहिलो प्रहारलाई क्रोएसियाका रक्षापंक्तिले रोकेको थियो । फर्किएर आएको बलमा पोग्बा गोल गर्न सफल भएका थिए । 

६५ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४–१ ले अघि बढाए । एमबाप्पेले डिबक्स नजिकबाट उत्कृष्ट गोल गरेका थिए । उनले २०१८ विश्वकपमा चार गोल गर्न सफल भए । त्यसपछि खेलमा कुनै गोल नहुँदा फ्रान्सले ४–२ गोलले खेल जितेर विश्व च्याम्पियन बन्यो । 

एम्बाप्पे बने उत्कृष्ट युवा खेलाडी


फ्रान्सका केलियन एम्बाप्पे रसिया विश्वकपकै उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । २० वर्ष पनि नपुगेका एम्बाप्पेले पनि विश्वकपको फाइनलमा गोल गरे । १९ वर्ष ६ महिनाका उनले यसअघि विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड पनि बराबरी गरेका थिए । 

उपाधि नजिते पनि गोल्डेन बल जिते लुका मोडरिकले


विश्वकपको उपाधि हात पार्ने करोडौं अपेक्षा निराशामा परिणत भएपनि क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बन्न भने सफल भएका छन् । उत्कृष्ट घोषित उनले गोल्डेन बल जितेका छन् । चार वर्ष अघि अर्जेन्टिनाका लिओनल मेस्सीको अवस्था यस्तै थियो । फाइनलमा अर्जेन्टिना जर्मनीसँग हारेको थियो तर, मेस्सीले गोल्डेन बल जितेका थिए ।

गोल्डेन बुट ह्यारीकेनलाई


त्यसैगरी इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले यो प्रतियोगिताभर सबैभन्दा धेरै ६ व्यक्तिगत गोल गरेका थिए । तर केनको टिम भने सेमी फाइनलमा क्रोएसियासँग २–१ गोलअन्तर र तेस्रो बरियताका लागि आइतबार भएको खेलमा बेल्जियमसँग २–० गोलअन्तरले पराजित हुन पुग्यो । 

बेल्जियमका गोलरक्षकलाई गोल्डेन ग्लोब

यसैगरी रसिया विश्वकप फुटबल, २०१८ प्रतियोगितामा तेस्रो स्थान बनाउन सफल टोली बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले गोल्डेन ग्लोब जितेका छन् । 

फाइनल खेलका अन्य तस्बिरहरु–


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com