पर्यटकलाई स्वागत गरेर ४४ औं विश्व पर्यटन दिवस मनाइयो

रामेछाप । ४४ औं पर्यटन दिवसको अवसरमा रामेछाप होटल तथा पर्यटन व्यवसायी संघले सोलुखुम्वु र सगरमाथा क्षेत्र भ्रमणको क्रममा मन्थली विमानस्थलमा आएका बिदेशी पर्यटकहरुलाई स्वागत गरी बिहिवार पर्यटन दिवस मनाएका छन् ।

पर्यटन दिवसको अवसरमा रामेछाप भूमी हुँदै सोलुखुम्वु र सगरमाथा क्षेत्र तर्फ हिडेका विदेशी पाहुनालाई मन्थलीमा खादा र नेवारी भाषाको कल्चर देखाएर स्वागत गरिएको रामेछाप होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठले जानकारी दिए ।

केहीदिन देखी मन्थली विमानस्थलवाट सीता, तारा र समिट एयरले मन्थली–लुक्ला उडान भर्दै आएका छन् । नेपाल घुम्न आएका विदेशी पर्यटकहरुलाई मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलसम्म आउजाउ गर्न सहज भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले वर्षमा दुई पटक चैतदेखि जेठ महिनासम्म (वसन्त ऋतु) र असोज पहिलो सातादेखि मङ्सिर १५ गतेसम्म (शरद ऋतु) मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला पर्यटक लैजाने व्यवस्था गरेको छ । अहिले मन्थली विमानस्थलवाट दैनिक सरदर ३२ वटा उडान हुँदै आएका छन् । जसमा दैनिक ५ सय भन्दा बढी पर्यटकहरु सगरमाथा क्षेत्रतर्फ जाने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ ।

Scroll to Top