अग्लो रुखमा चढेर हेलो गर्न वाध्यछन् हिमगंगाका नागरिक

रामेछाप । रामेछाप नगरपालिका–४ हिमगंगा स्थित बोलङ्गबोलङ्गका नागरिकहरुले कसैसँग मोवाइलमा कुरा गर्नु पर्यो भने मोबाइल सेट बोकेर अग्ला रूख चढ्नु वा अग्ला डाँडातिर उक्लिनु उनीहरुको दैनिकी जस्तै बनेको छ ।

त्यस ठाउँमा सञ्चारका लागि यो भन्दा विकल्प अर्को छैन । टेलिकमको टावर त्यस क्षेत्रमा नटिप्दा रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङ्गबोलङ्ग, मुर्गे गैरा, गिजनटार, ज्ञान टार, फुन्द्रेबेसी पुच्छार, वरवोटे लगाएतका क्षेत्रमा बसोवास गर्ने नागरिकहरुले वर्षौदेखी यस्तै दैनिक नियति भोग्न बाध्य भएका छन् । हिमगंगा बोलङ्गबोलङ्गका नैनकुमार मगरलाई घरबाट कोही कसैलाई फोन गर्नुपर्यो भने सधै सताउने गर्छ । फोन गर्न खोज्दा टेलिकमको टावर नै मोवाइलमा देखाउँदैन । मोवाइलमा कतै टावर देखाइहाले पनि फोन नै लाग्दैन । कहीँ कतै फोन लागि हाले पनि कुरै बुझिदैन् । त्यसैले कुरा गर्न सधै घर नजिकैको रुखमा चढेर कुरा गर्नुपर्ने वाध्यता रहेको मगरले बताए ।

हिमगंगाका नैनकुमार मात्र हैन यस्तो समस्या अधिकासं गाउँका नागरिकहरुले व्यर्होन वाध्य छन् । गाउँमा टेलिफोन गर्न धेरै समस्या भएको रामेछाप नगरपालिका–४ हिमगंगाका सुन्दर घिमिरेले जानकारी दिए । उनले भने– मोवाइलमा फोन नै लाग्दैन् यदि लागिहाल्यो भने कि अग्लो डाँडातीर चढ्नु पर्छ कि त रूख नै चढ्नुपर्छ । नत्र फोनमा कुरै बुझिँदैन । नमस्तेको सिमकार्डले राम्रो काम गर्दैन । स्काई र एनसेलको सिमकार्डमा कहिलेकाहीँ दिउँसो सम्पर्क हुन्छ । त्यसका लागि पनि कि अग्लो रूख चढ्नुपर्छ कि त डाँडातिर जानुपर्छ । होचो भागमा फोन सम्पर्क नै नहुने गरेको घिमिरेले बताए ।

मोवाइलमा टावर नटिप्दा सबै भन्दा बढी विद्यालय, क्याम्पसमा अध्ययरत बालबालिकाहरु र लोक सेवा परीक्षाको लागि तयारी गर्दै गरेका विद्यार्थीहरु बढी मारमा परेका छन् । विद्यार्थीहरुले अनलाइन मार्फत गुगलवाट सर्च गरेर अध्ययन गर्ने कुरा समेत गर्न सकेका छ्रैनन् । सञ्चारको प्रविधिसँगै धेरै कुरा गुगल सर्च गरेर अध्यनन गर्न पाइने भएता पनि हिमगंगाका विद्यार्थीहरुले उक्त सुविधा उपभोग गर्न नपाएको पनि घिमिरेले बताए ।

हिमगंगाका नागरिकहरुले सञ्चार क्षेत्रवाट वञ्चित भएको भन्दै स्थानिय जनप्रतिनिधिहरुले नेपाल टेलिकमसँग रिपिटर टावरको माग गरेका थिए । स्थानियहरुको मागको आधारमा तीनवर्ष अघि हिमगंगाको बोलङ्गबोलङ्गमा टेलिकमले टावर निमार्ण गरेको भएता पनि अझै सञ्चालनमा आउन सकेको छैन् । टावर सञ्चालनको लागि पटकपटक ताकेता गर्दा पनि कार्यालयका कर्मचारीले कुनै वास्ता नगरेको रामेछाप नगरपालिका–४ हिमगंगाका वडा अध्यक्ष कृपा थापामगरले जानकारी दिए । उनले भने– मगर समुदायको बाहुल्यता रहेको यस गाउँका नागरिकहरु सञ्चारक्षेत्रवाट बञ्चित हुनु परेको छ । टेलिकमको टावर बन्यो तर संञ्चालमा आएन ।

हिमगंगमा टावर निमार्ण भएता पनि त्यसमा जडान गरिने केही उपकरणहरुको काम अझै बाँकी रहेको र ती उपकरणहरु जिल्लामा आइनसकेका कारण टावर सञ्चालनमा ल्याउन नसकिएको हो । फागुन महिनाभित्र आवश्यक उपकरण ल्याएर जडान गर्ने र टावर सञ्चालनमा ल्याइने नेपाल टेलिकम रामेछापका कार्यालय प्रमुख पन्च कुमार साहुले जानकारी दिए ।

Scroll to Top