रामेछाप । यही चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सो कुराको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।


त्यसैगरी बैठकले अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।