रामेछाप । सडक भासिएपछि रामेछापको पुष्पलाल राजमार्ग अन्तर्ग पर्ने मन्थली–खिम्ती सडक वुधवार विहान देखी अवरुद्ध भएको सडक एकतर्फी खुल्ला गरिएको छ ।

लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ स्थित हलेदे नजिकैको कालोपत्रे सहितको करिब २० मिटर सडक भासिएपछि सो सडक हुँदै सञ्चालन हुने यातायातका साधनहरु ठप्प भएको थियो । तामाकोशी नदीले तलवाट सडक मुनीको जमिन कटान गर्दा सडक भासिन पुगेको हो । सडक भासिएर रोकिएका यातायातका साधन सडक सञ्चालनमा आएसँगै आआफ्नो गन्तव्य तर्फ गएका छन् ।
सो सडक हुँदै रामेछापको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र छिमेकी जिल्ला दोलखाको शहरे, तामाकोशी र मेलुङ्ग गाउँपालिकाबाट छुटेका यात्रुवाहक वस मार्फत सयौं यात्रुहरु सोही रुटवाट विपी राजमार्ग हुँदै राजधानी काठमाण्डौंसम्म आवतजावत गर्ने गर्दछन् । छिमेकी जिल्ला दोलखा हुँदै राजधनी जानु भन्दा यस सडकवाट राजधानीसम्म पुग्न छोटो दुरी पर्ने भएकाले यात्रुहरु वढी मात्रामा यो सडक प्रयोग गर्ने गरेका हुन ।


सडक खुलाउन लिखु तामाकोशी गाउँपालिकासँग सहकार्य गरेर जेसिभी मार्फत सडकको माथिल्लो तर्फको भाग कटान गरी सो स्थानवाट सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।