काठमाण्डौ । १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमवार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरी सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी छिन ।
नेपाल बिग माउन्टेन ट्राभलले आज बुधवार पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सफल सगरमाथा आरोहण गरेको जानकारी गराएको हो । नेपाल बिग माउन्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिए । उनी महिलाहरु मध्ये सबैभन्दा कम उमेरमा सगरमाथा आरोही बनेकी छिन् ।
शुई चो युआनले आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको उत्तरी मोहडाबाट आरोहण गरेको सुनाउँदै त्यहीँबाट आफूले आरोहण गर्ने प्रेरणा मिलेको बताएकी छिन् । शुई चो युआनले आरोहणका क्रममा सुरुमा मौसम खराबीले केही चुनौतीको सामना गर्नुपरे पनि आरोहणको दिन भने मौसमले साथ दिएको अनुभव सुनाइन् । उनले आरोहणका क्रममा सहयोगी शेर्पाहरूले सहयोग गरेकोमा धन्यवाद समेत दिइन् । सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनको असर आफूले सुनेको जस्तो देखिएको बताउँदै उनले आरोहणबाट फर्किने क्रममा उपयोग भइसकेका सामान आफूहरूले सँगै फिर्ता ल्याएको बताइन ।
यस वर्षको सगरमाथा आरोहण शनिवारवाट मात्रै शुरु भएको हो । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाका अनुसार १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान भने छैन । यस वर्ष सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । सगरमाथा आरोहण गर्न यस वर्ष सबैभन्दा धेरै आरोहीले आरोहणको अनुमति पाएका छन् ।