रामेछाप । लम्की स्किन रोगका कारण भटाभट गोरु बिरामी परेर थला परेपछि रोपाई गर्न नपाएका किसानलाई सहजताको लागि लिखु तामाकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर बितरण गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० को बार्षिक वजेटवाट ५० थान हातेट्याक्टर खरिद गरी किसानहरुलाई पालिकाले वितरण गरेको हो । लम्की स्किन रोगका कारण गोरु बिरामी परेर खेत जोत्न समस्या भएको र रोपाई समेत प्रभावित हुने भन्दै किसानहरुले हाते ट्याक्टर माग गरे अनुसार बितरण गरिएको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीले जानकारी दिए ।
पालिकाको कृषि शाखाले यसअघि पनि दुरागाउँ र खिम्तीमा हाते ट्याक्टर वितरण गरिएको थियो । पछिल्लो समय किसानहरुले गोरु पाल्न छाडेसँगै गाउँपालिकामा हाते ट्याक्टर माग्ने संख्या अत्याधिक बढेको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिए । उनले भने– यस वर्ष गाउँपालिकाको ७ वटै वडामा पुग्ने गरी प्रति वडा ७ वटाका दरले ट्याक्टर वितरण गरेका छौं । किसानको माग अत्याधिक छ । आगामी आर्थिक वर्षमा पनि किसानहरुलाई वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष महतले बताए ।
खेत रोपाई गर्ने बेलामा घरमा पालेको गोरु लम्की स्किन रोगका कारण थला परेपछि खेत रोप्न नपाएको अवस्थामा गाउँपालिकाले हाते ट्याक्टर दिएपछि खेत रोपाई गर्न सहज भएको लिखु तामाकोशी गाउँपालिका–६ का गुणराज खड्काले जानकारी दिए ।