मन्थलीमा क्यामेरा थप्दै प्रहरी–पसलको सटर फुटाउँदै चोर्दै चोर

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले विभिन्न अपराधिक गतिविधि रोक्न मन्थली बजारको चोकचोकमा सिसी क्यामेरा र प्रहरी गस्ती गरेता पनि त्यसको वेवास्ता गर्दै चोरीमा संलग्न गिरोहले वजार क्षेत्रका व्यवसायीको सटर फुटाउँदै पसल चोर्दै आएपछि प्रहरीलाई थप चुनौती थपिएको छ ।

प्रहरीले मन्थली नगरपालिकाको आर्थिक सहयोगमा सुरक्षाको निगरानी गर्ने भन्दै बजारका मुख्य मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ भने अपुग भएको स्थानमा थप गर्दै पनि आएको छ । यता सिसी क्यामेरासँगै वजार क्षेत्रमा प्रहरीले गस्ती समेत गर्दै आएको छ ।

सिसी क्यामेरा र गस्तीमा खटिएका प्रहरीको समेत आँखा छल्दै एकहप्ता अघि तामाकोशी अस्पताल छेउमा रहेको थापा स्र्टोस पसल फोडेर ३० हजार नगद चोरी भएको छ । मन्थलीको मुख्य वजार क्षेत्रमा नै व्यवसायीको पसल फुटाएर नगद लैजाँदासम्म प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्रन गर्न नसक्दा आफुलाई दुःख लागेको व्यवसायी भुवन थापा बताउँछन् ।

सिसी क्यामेराको फुटेज हेर्दा उक्त पसल चोरीमा संलग्न तीनजना देखिएको भएता पनि अहिलेसम्म ती व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । मन्थलीको मुख्य वजार क्षेत्रमा चोरी हुँदा समेत प्रहरीले पक्राउ गर्न नसक्नु लाजमर्दो बिषय भएको र सवै व्यवसायीहरु नै असुरक्षित महसुस भएको व्यवसायीहरु बताउँछन् ।

४५ वटा सिसी क्यामेरा र प्रहरीको निगरानीमा रहेको सदरमुकाम मन्थली वजार क्षेत्रको अवस्था त यस्तो छ भने ग्रामिण क्षेत्रको अवस्था कस्तो होला ? पछिल्लो केही महिना यता रामेछापमा दैनिक जस्तै चोरीका घटना हुँदा समेत प्रहरीले चोरीमा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन् ।

करिव तीन महिनाको अवधिमा रामेछापको मन्थली नगरपालिकाको मन्थली वजार, आकाशे, खादवारी, देवकोटा चोक, हाटेचौर, सुनारपानी, सालु,कठजोर सानिमदौ, भटौली, फुलासी लगाएतका स्थानमा चोरी भएको छ । त्यस्तै खाँदादेवी गाउँपालिकाको माकादुममा दैनिक जस्तै चोरीका घटना घट्ने गरेका छन् । रामेछाप नगरपालिकाको रामेछाप वजार, भालुखोप र सुकाजोर क्षेत्रमा पनि चोरीका घटना घटेका छन् ।

त्यस्तै गाेकुलग‌‌गा गाउँपालिकाको बेताली, रस्नालु, नामाडी र फर्पुमा समेत चोरीका घट्ना घटेका छन् । यति धेरै स्थानमा चोरीका घटना हुँदा पनि प्रहरीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न सकेको छैन् । प्रहरीले चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा आम रामेछापका नागरिकमा त्रास सिर्जना भई असुरक्षित महसुस गर्दै आएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय रामेछापले भने सिसी क्यामेराको फुटेजको आधारमा चोरीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको र चाडै नै पक्राउ गरिने प्रहरी निरीक्षक रन्जन कुमार गिरीले जानकारी दिए ।

Scroll to Top