रामेछाप । सुविधा सम्पन्न भवन, आवश्यक औजार उपकरण सोही अनुसार दक्ष चिकित्सक भएपछि जिल्ला अस्पताल रामेछापमा आकस्मीक प्रसुतीजन्य सेवा लिने महिलाको संख्यामा बृद्धि भएको छ ।
जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बिगत बर्षको तुलनामा दोब्बरले बढेको छ । अस्पतालको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७७÷०७८ मा ७१ जना महिलाले अस्पतालवाट प्रसुती सेवा लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ९२ जनाले प्रसुती सेवा लिएका थिए भने गएको आर्थिक वर्ष २०७९÷०८० मा १ सय ६० जना महिलाले प्रसुती सेवा लिएको अस्पताल विकास ससितिका अध्यक्ष यम पाख्रीनले जानकारी दिए ।
केही वर्षअघिसम्म जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिन जानै नमान्ने महिलाहरु अहिले सुरक्षित सुत्केरी गराउन जिल्ला अस्पताल नै रोज्न थालेका छन् । जिल्लामा एकमात्र सरकारी अस्पताल रहेको रामेछापमा शुरुका वर्षहरुमा गर्भवती महिलाहरुले चेकजाँच गराउन अस्पताल गएता पनि सुत्केरी गराउन भने सुविधासम्पन्न अस्पतालमा जाने गर्दथे ।
अस्पतालमा २०७८ फागुनबाट आकस्मीक प्रसुतिजन्य शल्यक्रिया शुरु भएदेखी अहिलेसम्म ६० जना महिलाको शल्यक्रिया विधिवाट नै प्रसुती गराइएको जिल्ला अस्पताल रामेछापका डा.मनोज यादवले जानकारी दिए । उनले भने– अस्पतालमा आकस्मिक प्रसुतिजन्य शल्यक्रिया शुरु भएदेखी अस्पतालमा नै आएर सुत्केरी गराउने महिलाको संख्यामा बृद्धि भएको छ ।
जसमा आर्थिक वर्ष २०७८÷०७९ मा ७४ जना महिलाको सामान्य र १८ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा १ सय १८ जना महिलाले सामान्य तरिकाले प्रसुती गराइएको थियो भने ४० जना महिलाको शल्यक्रिया मार्फत प्रसुती गराएको र २ जनाको हकमा औजार प्रयोग गरेर प्रसुती गराइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
त्यस्तै सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालले पनि शल्यक्रिया विधिमार्फत प्रसुती सेवा प्रदान गर्न थालेपछि मन्थली अस्पतालमा पनि सेवा लिने महिलाको संख्यामा बृद्धि भएको छ । सुविधा र आवश्यक चिकित्सक नहुँदा रामेछापका गर्भवती महिलाहरुले हजारौं रुपैयाँ खर्चेर सुत्केरी सेवा लिन राजधानीसम्म जाने गर्दथे । समयमा उपचार नपाउँदा केही महिलाले बिच बाटोमा नै अकालमा ज्यान समेत गुमाउन वाध्य भएका थिए । तर अहिले सुरक्षित तरीकाले कम खर्चमै जिल्लामा नै प्रसुती सेवा पाएपछि गर्भवती महिलाहरु बाहिरी जिल्ला जानुभन्दा उपचार लिन आफ्नै जिल्लाका अस्पताल तर्फ उनीहरुको आकर्षण बढेको हो ।