
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले २०७७ साउन १ गतेबाट शुरु गरेको राष्ट्रिय परिचयपत्रको लागि व्यक्तिगत विवरण फाराम भरेका नागरिकहरुले तीन वर्षपछि राष्ट्रिय परिचयपत्र पाउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापले साउन १० गतेवाट बनेर आएका परिचयपत्र बितरणको कार्य शुरु गरेको छ । तीनवर्ष अघि परिचयपत्रको लागि फाराम भरेकाहरु मध्ये पहिलो लटमा २ हजार ५ सय ८७ जनाको परिचयपत्र वनेर आएको र उक्त परिचयपत्रहरु मध्ये १ सय जनाले परिचयपत्र बुझेर लगेका जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्रमा कार्यरत कम्प्युटर अपरेटर कुमारदास श्रेष्ठले जानकारी दिए ।

प्रशासन कार्यालयले शुरुमा बनेर आएका परिचयपत्र सम्वन्धित व्यक्तिलाई मोवाइल नम्वरमा तपाइको परिचयपत्र बनेर आइसकेको छ । परिचय पत्र लिन आउँदा शुरुमा विवरण संकलन गर्दा जिल्ला प्रशासन कार्यालयले दिएको विवरण प्रतिलिपि लिएर आउनुस् भन्ने सन्देश पठाएर बोलाउने र कार्यालयमा आएका नागरिकलाई परिचयपत्र बुझाउने काम शुरु गरेको हो ।
जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तहवाट २०८० साउन १० गतेसम्म १ लाख ९ सय ४० जनाले राष्ट्रिय परिचयपत्रको लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयले कार्यालयमा आएका सेवाग्राहीको कार्यालयमा नै परिचयपत्रको लागि विवरण संकलन गर्ने र सवै स्थानिय तहमा घुम्ती टोली पठाएर ७० हजार ९ सय ४० जनाको विवरण संकलन गरेको थियो ।
जसमा मन्थली नगरपालिकावाट १४ हजार १ सय ६७ जना, रामेछाप नगरपालिकावाट १० हजार ६ सय ११ जना र खाँडादेवी गाउँपालिकावाट ९ हजार ७ सय ३ जनाले राष्ट्रिय परिचयपत्रको लागि व्यक्तिगत विवरण भरेका थिए । त्यसैगरी सुनापति गाउँपालिकावाट ७ हजार १ सय ६९ जना, दोरम्वा शैलुङ्ग गाउँपालिकावाट ८ हजार १ सय ४७ जनाले परिचयपत्रको लागि फाराम भरेका थिए ।
त्यस्तै लिखु तामाकोशी गाउँपालिकावाट ७ हजार २ सय ३२ जना, गोकुलगंगा गाउँपालिकावाट ७ हजार ९ सय १ जना र उमाकुण्ड गाउँपालिकावाट ६ हजार १० जनाले राष्ट्रिय परिचयपत्रको लागि आफ्नो व्यक्तिगत विवरण भरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।