
रामेछाप । बिगत वर्षहरुको तुलनामा यसवर्ष रामेछाप जिल्लामा आलुको उत्पादन २८ प्रतिशतले बृद्धि भएको छ ।

विगत वर्षहरुमा कृषकहरूले परम्परागत रूपमा गर्दै आएको आलु खेतीमा आधुनिक विधि सहित उन्नत जातको बिउको प्रयोग गरेपछि आर्थिक वर्ष २०७८÷०७९ मा भन्दा २०७९÷०८० मा आलुको उत्पादनमा बृद्धि भएको हो ।

किसानहरूलाई आलु उत्पादन सम्बन्धी तालिमको व्यवस्था, पीबीएस तथा उन्नत आलुको बिउको प्रयोग, सिँचाइ सुविधाको विस्तार, उचित मल खादको प्रयोग, रोग कीराको पहिचान तथा रोकथाम र ड्याम बनाएर आलु खेती गरिएका कारण गत वर्षको भन्दा यो वर्ष २८ प्रतिशतले आलु उत्पादनमा बृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले जानकारी दिए ।
आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा गएको आर्थिक वर्ष २०७९÷८० मा रामेछापमा आलुको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा वृद्धि भएको छ । उनका अनुसार क्रप कटिङ प्रविधिबाट लिइएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रति हेक्टर १५ दशमलव १४ मेट्रिक टन उत्पादन भई जिल्ला भर ४९ हजार ६३० मेट्रिक टन आलु उत्पादन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा आलुको उत्पादकत्व बढेर प्रति हेक्टर १९ दशमलव ३८ मेट्रिक टन फल्दा यो वर्ष ६४ हजार ७८७ मेट्रिक टन आलु उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ रामेछापको विभिन्न भेगका तीन हजार २७८ हेक्टर जमिनमा आलु बाली लगाइएकोमा आर्थिक वर्ष २०७९÷०८० मा २ प्रतिशतले वृद्धि भई तीन हजार ३४३ हेक्टर जमिनमा आलु लगाइएको थियो । दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तह रहेको रामेछापमा विशेष गरी उमाकुण्ड, गोकुलगंगा, दोरम्बा शैलुङ, सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाको पनि उच्च लेकाली भेगमा पर्याप्त मात्रामा आलु उत्पादन हुने गरेको छ ।