रामेछाप । निजामती दिवसको अवसरमा शुक्रवार मन्थलीमा आयोजना गरिएको प्राविधिक कर्मचारी र प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वको प्रशासन टिम बिच भएको मैत्रीपूर्ण फुटवल खेलमा प्राविधिक टिमले प्रशासन टिमलाई हराएको छ ।
‘व्यावसायिक सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ शुक्रवार देशभर निजामती सेवा दिवस मनाइएको छ । सोही अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कर्मचारी मिलन केन्द्र रामेछापले आयोजना गरेको उक्त खेलकुद प्रतियोगीताको सहजीकरण रामेछाप जिल्ला फुटबल संघले गरेको थियो ।
उक्त प्रतियोगीतामा निजामतीका प्रशासन, सवारी चालक र प्राविधिक तर्फका दुई समुह गरी ४ समुहमा खेल भएको थियो । प्रतियोगीताको फाइनल खेलमा प्राविधिक समुहले प्रजिअ नेतृत्वको प्रशासन टिमलाई १–० अन्तरले पराजित गरी प्राविधिक कर्मचारीको टिम प्रथम र प्रशासन कर्मचारीहरूको टिम द्वितीय भएको जिल्ला फुटबल संघका अध्यक्ष सुन्दर घिमिरेले जानकारी दिए ।