
रामेछाप । बिगत लामो समयदेखी पानीको महसुल नतिर्ने सदस्यहरुको धारा काट्ने मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जनाएको छ ।

धारा जडान गरेर नियमित पानी उपभोग गर्दै आएका सदस्यहरुलाई खानेपानीको महसुल बुझाउन पटक–पटक टेलिफोन मार्फत र पत्राचार गर्दा समेत आनाकानी गरेपछि वाध्य भएर कठोर निर्णय लिनु परेको मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका कोषाध्यक्ष कृष्ण बस्नेतले जानकारी दिए । उनले भने– बिगत वर्षदेखी सदस्यले पानीको महसुल नबुझाउँदा १८ लाख ७४ हजार रकम उठन बाँकी रहेको छ । यो रकम नउठ्ने हो भने कार्यालय संचालनमा समेत समस्या हुने बस्नेतले बताए ।

पानी उपभोग गर्दै आएका सदस्यहरुलाई आफुले उपभोग गरेको पानीको महसुल बुझाउनुस भनेर धेरै पटक भन्यौं । केही सदस्यहरुले आफुले उपभोग गरेको पानीको महसुल कार्यालयमा बुझाएको र अझै धेरै सदस्यहरुले रकम वुझाउन बाँकी रहेको छ । यस बिषयमा यहीँ भाद्र २९ गते बसेको पदाधिकारी बैठकले पानीको महसुल बुझाउन सदस्यलाई एकहप्ताको समय दिने र उक्त समयावधी भित्र पनि महसुल नबुझाउनेहरुको हकमा धारा काट्ने निर्णय भएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ढाकल थापाले जानकारी दिए ।
उनले भने– पानीको श्रोत कतै नभएका कारण तामाकोशी नदीको पानी विद्यूतीय माध्यमवाट तानेर वजार लाइनमा वितरण गरेका छौं । पानी तानेको विधुतको बिल मात्रै मासिक करिव ४ लाखको हाराहारीमा आउँछ । विद्युत आउने जाने समस्याले गर्दा पानी तान्ने उपकरण देखी ट्रान्समिटर समेत पटकपटक जलेर हैरान हुने र खर्च त्यतीकै बढ्ने गरेको सचिव थापाले बताए ।

सदरमुकाम मन्थलीमा खानेपानीको वैकल्पीक मुहान नहुँदा तामाकोशी नदी किनारमा इनार निमार्ण गरी पानी विद्युतीय माध्यम लिफ्ट प्रणालीवाट तानेर बाधियाँचौर, सिडियो क्वाटर, चुच्चे ढुङ्गा र गिद्धबस्ने बर्राको रुख छेउमा निमार्ण गरिएको रिर्जभ ट्याङ्कीमा पानी संकलन गरि वितरण गरिदै आएको छ । यसअघि भलुवाजोरको गुवाखोला र सुनारपानीको मचवारी खोला मुहान गरी ल्याइएको पानीको मुहान सुकेपछि सदरमुकाम मन्थलीमा वैकल्पीक रुपमा तामाकोशी नदी किनारमा इनार निमार्ण गरी उक्त पानी हाल वितरण गरिदै आएको छ ।
मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाई समिति मार्फत वितरण गरिएको पानी धारा संख्या १ हजार ५ रहेको छ । जसमा व्यक्तिगत धारा जडान गर्नेको संख्या ९ सय ४५ रहेका छन् भने सरकारी कार्यालय र सघसस्थामा जडान गरिएको धारा संख्या ६० वटा रहेको छ । यसवाहेक १ वटा धारा अत्तिरिक्त जडान गरिएको सो समितिले जनाएको छ ।