रामेछापका स्वास्थ्यकर्मी आन्दोलित

रामेछाप । देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अस्पतालमा भएका घटनाको बिरोधमा रामेछापका स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् ।

नागरिकको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुलाई अस्पतालमा नै गएर कुटपिट गर्ने, अस्पताल तोडफोड गर्ने जस्ता क्रियाकलाप हुँदै आएको भन्दै त्यसको बिरोधमा रामेछापका स्वास्थ्यकर्मीहरुले बिहिवार मौन जुलुस निकालेर बिरोध जनाएका हुन् ।

नेपाल चिकित्सक संघ र नेपाल स्वास्थ्यकर्मी संघको अगुवाईमा सदरमुकाम मन्थलीको देवकोटा चोकवाट निकालेको मौन जुलुस बजार हुँदै जिल्ला प्रशासन कार्यालय रामेछाप पुगेर प्रमुख जिल्ला अधिकारी अनिता निरौलाई ज्ञापन पत्र समेत बुझाएको मन्थली अस्पतालका डा.केशव धामीले जानकारी दिए ।

केही दिनदेखी देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न समयमा स्वास्थ्यकर्मी माथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने र स्वास्थ्यकर्मीहरु माथि कुटपिट गर्ने संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

Scroll to Top