तीन महिनादेखी सहायक वन अधिकृत कार्यालय फर्किएनन्

रामेछाप । डिभिजन वन कार्यालय रामेछाप अन्तर्गत सव डिभिजन कार्यालय ठोसेका सहायक वन अधिकृत दीपक रिमाल तीन महिना वितिसक्दा पनि कार्यालय फर्किएका छैनन् ।

साउन ६ गते कार्यालयवाट हिडेका रिमाल अझै कार्यालय गएका छैनन् । साउन ६ गते कार्यालय छाडेका अधिकृत रिमालले कार्यालयको हाजिर कपीमा भने भदौ महिनासम्मको हाजिरी गरेको भेटिएको सव डिभिजन कार्यालय ठोसेका एक कर्मचारीले जानकारी दिए । उनले भने– कार्यालय प्रमुख हिडेको धेरै भइसक्यो । अहिले कार्यालयमा भएका कर्मचारीहरु पनि आआफ्नो कामले बाहिर हिडेपछि कार्यालयमा ताल्चा लगाएको पनि ती कर्मचारीले बताए ।

कार्यालयमा कर्मचारी नभएपछि सेवा लिन जाने सेवाग्राही खाली हात फर्कन वाध्य हुनु परेको गोकुलगंगा गाउँपालिका–२ ठोसेका मणिराज कार्कीले जानकारी दिए । उनले भने– अधिकृत रिमालले हामी नागरिकलाई धेरै दुःख दिए । कार्यालयमा काम लिएर जाँदा सिधै सेवाग्राहीसँग पैसा माग्ने गर्दछन् । पैसा दिएन भने काम नै हुदैन भनेर हर्काछन् । पैसा दिए काम गरिदिने पैसा नदिए विभिन्न अल्झन गराउने गर्दा आम उपभोक्ता मारमा परेका छन् । तीन महिनादेखी कार्यालय बन्द छ । नागरिकले सेवा पाउनुको सट्टा उल्टो दुःख खेप्न वाध्य हुनुपरेको कार्कीले बताए ।

अधिकृत रिमालले स्थानिय एक युवतीलाई भर्ना गरेका छन् । उनी कार्यालयमा बस्नुभन्दा ती युवतीलाई लिएर जिल्ला बाहिर घुम्न जाने गरेको आरोप पनि कार्कीले लगाए । त्यस्तै अधिकृत रिमालले गएको आर्थिक वर्षमा गोकुलगंगा गाउँपालिका–२ ठोसेको जलकाली सामुदायिक वनमा वृक्षारोपणको लागि डिभिजन वन कार्यालय मार्फत गएको पैसा वृक्षारोपण नै नगरी रकम हिनामिना गरेको आरोप पनि स्थानियहरुको रहेको छ ।

त्यसैगरी विभिन्न ठेकदारसँग मिलेमतोमा बहुमुल्य पर्ने वनपैदावर समेत निकासा गरेर लाखौं रुपैयाँ असुलउपर गर्ने गरेको पनि स्थानियको आरोप छ । त्यस्तै अधिकृत रिमालले निजी वनलाई सामुदायिक वन भनी डिभिजन वन कार्यालयमा सिफारिस गरी ५ लाख रुपैयाँ व्यक्तिसँग मिलेर रकम अनियमितता गरेको,नर्सरी स्थापनामा ५ लाँख अनियमितता गरेको र बजार सरसफाईको नाममा आएको वजेट समेत उनले अनियमितता गरेकाले स्थानिय उपभोक्ताहरुले अधिकृत रिमाललाई कालोमोसो लगाउने तयारी गरेपछि उनी कार्यालय छाडेर हिडेको र पुन कार्यालय नफर्किएको पनि स्थानिय उपभोक्ता मणिराज कार्कीले जानकारी दिए ।

सव डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत रिमाल कार्यालयमा नबस्दा समस्या भएको डिभिजन वन कार्यालय रामेछापका डिभिजन वन अधिकृत ओमसागर भण्डारीले जानकारी दिए । उनले भने– साउन महिनादेखी उनी कार्यालयमा फर्किएका छैनन् । कार्यालयमा नबस्दा उत्तरी क्षेत्रका नागरिकहरुले दुःख पाएको सत्य हो । हामीले के–कती कारणले कार्यालयमा नबसेको हो सो बिषयमा तत्काल जानकारी गराउनु भनी स्पष्टीकरण माग गरेकोमा उक्त स्पष्टीकरणको प्रतिउत्तर समेत नदिएकाले थप पत्राचार गर्ने तयारी कार्यालयले गरेको पनि अधिकृत भण्डारीले बताए ।

उपभोक्ताहरुसँग रकम माग गरेर दुःख दिने गरेको, कार्यालयमा बस्दै नबसी हाजिरी गर्ने गरेको लगाएतका बिषयमा सहायक वन अधिकृत रिमालसँग जानकारी लिन पटकपटक टेलिफोन गर्दा उनीसँग सम्र्पक हुन सकेन ।

Scroll to Top