
रामेछाप । काभ्रेको पनौती नगरपालिका–५ स्थित सुन्दर बस्तीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा रामेछापको मन्थली नगरपालिका–११ की २० बर्षकी रमीला बुढाथोकीको ज्यान गएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

आज बिहान काठमाडौँबाट पूर्वको इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा–प्र– ०३– ००१– ज०२९८ नं को इलेक्ट्रिक गाडीले ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिई गाडी भाग्ने क्रममा उक्त गाडी सोही स्थानको सडकको किनारको नालीमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार र गाडीमा सवार दुवै तर्फका यात्रीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने– दुर्घटनामा परी घाइते भएका सवैजनालाई स्थानीय र प्रहरीद्धारा उद्धार गरी उपचारको लागि धुलिखेल अस्पतालमा लगिएकोमा उपचारको क्रममा बुढाथोकीको ज्यान गएको हो । अन्य घाइतेहरुको उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको पनि उपरीक्षक श्रेष्ठले बताए ।
गाडी दुर्घटनामा परी घाइते हुनेहरुमा रामेछाप जिल्लाका मन्थली नगरपालिका–१ की २३ बर्षकी पुष्पा तामाङ, लिखु तामाकोसी गाउँपालिका–६ का ५१ वर्षका टंकप्रसाद दाहाल, मन्थली नगरपालिका– २ की ३० बर्षकी ज्ञानु ढुंगेल,मन्थली नगरपालिका–१ का १८ वर्षका रकिट ढुंगेल र लिखुतामाकोशी गाउँपालिका–६ का ३८ वर्षका अनिल आलेमगर रहेका छन् ।
त्यसैगरी अन्य घाइते हुनेहरुमा सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–३ का ३१ बर्षकी उर्मिला घिमिरे, मोटरसाइकलमा सवार इलाम जिल्लाको थाकथुम गाउँपालिका–३ का ४० वर्षका राम कुमार राई र उनकी श्रीमती ३९ बर्षिया प्रविशा सुनुवार घाइते भएका छन् । प्रहरीले गाडी चालक पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि वढाएको पनि प्रहरीले जनाएको छ ।