
रामेछाप । स्थानिय तहको निर्वाचनमा निर्वाचित भएदेखी नै शक्तिको आडमा सरकारी गाडीको चरम दुरुपयोग गर्दै आएका दोरम्वा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटना पारेका छन् ।

उनले मंगलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्वरको स्कारपियो गाडी सिक्ने क्रममा दुर्घटना गराएका हुन् । अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ्ग गरेर राखेको उक्त गाडीको चावी चालकसँग मागेर आफैले परिसरवाट निकालेर स्वास्थ्य चौकी टोकरपुरसम्म लगेका थिए । उनले सो गाडी स्वास्थ्य चौकीवाट फर्काएर कार्यालयको परिसरमा ल्याएर पुनः परिसरवाट वाहिर निकाल्ने क्रममा गाडी दुर्घटना परेको हो । उक्त गाडी दुर्घटनावाट अध्यक्ष मोक्तान भने जोगिन सफल भएका छन् ।

अध्यक्ष मोक्तानले निकाल्दै गरेको उक्त गाडीमा अकस्मात एक्सीलेटर दबाउँदा गाडी हुत्तिएर पालिकाको भवन मुनी रहेको चिस्यान केन्द्रको भवन नजिकै ठोक्किएको थियो । दुर्घटनामा परेको उक्त गाडीको अगाडीको भागमा क्षती पुगेको छ । दुर्घटनापछि सो गाडी चालकले घटनास्थलवाट निकालेर कार्यालयको परिसरसमा ल्याएर त्रिपाल ओढाएर राखेका छन् ।

अध्यक्ष मोक्तानले आफ्नो शक्तिको प्रयोग गरी सरकारी सम्पतीको चरम दुरुपयोग गरेको बिषयलाई लिएर सामाजिक सञ्जालमा नागरिकहरुले विरोध जनाएका छन् । गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखे पनि चालक अनुमती पत्र बिना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटना गराएको र उक्त गाडी मर्मतसम्भारको खर्च पालिकाले व्यर्होछ की अध्यक्ष मोक्तानले व्यर्होछन् त्यो हेर्न वाँकी रहेको दोरम्वा शैलुङ्ग गाउँपालिका–२ का धनलाल योञ्जनले आफ्नो फेसवुक पेजमा स्टाटसमा लेखेका छन् ।
सो स्टाटसको बिषयलाई लिएर दोरम्वा शैलुङ्ग गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश महतोले गाडी सिक्ने क्रममा दुर्घटना भएको र उक्त गाडी मर्मत सम्भार गाउँपालिकाकै श्रोतवाट खर्च व्यहोर्ने उल्लेख गरेका छन् । उनले “देशमा भ्रष्टाचार गर्न मिल्ने तर पालिका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटना भएको गाडी मर्मत पालिकाले किन गर्न नहुने भन्दै गाडी मर्मतको कुरामा शंका गर्न अर्थ देखिदैन चेतना भया” भन्दै धम्कीपूर्ण स्टाटस फेसबुक पेजमा लेखेका छन् ।
अध्यक्ष मोक्तान नेकपा माओवादी केन्द्रवाट गएको स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका हुन् । उक्त पालिकामा नेकपा माओवादी र नेपाली काँग्रेसले गठवन्धन गरी चुनाव लडेका थिए । गाडी दुर्घटनापछि उक्त गाडी कार्यालयको कम्पाउण्डमा थन्काएर अध्यक्ष मोक्तान अर्कै गाडी लिएर राजधानी तर्फ लागेको दोरम्वा शैलुङ्ग गाउँपालिकाका एक कर्मचारीले बताए ।