लिखु हाइड्रोपावरको गेटमा शव राखेर आन्दोलनमा

रामेछाप । लिखु नदीमा निमार्णाधिन लिखु हाइड्रोपावरमा कार्यरत एक मजदुरको पर्खालवाट लडेर ज्यान गएपछि पिडीतका परिवारले हाइड्रोपावरको गेटमा शव राखेर आन्दोलनमा उत्रिएका छन् ।

बिहिवार काम गर्ने क्रममा पर्खालवाट लड्दा रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरे सामुडाँडाका ३० बर्षिय कैलाश कार्कीको ज्यान गएको हो । काम गर्नेक्रममा ड्यामको गेटको पर्खालवाट करिव २० मिटर तल झरेका कार्कीलाई तत्काल घटनास्थलवाट उद्धार गरी उपचारको लागि सोलुको किज्याङ अस्पतालमा भर्ना गरिएको थियो । उनको सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि रामेछापको सदरमुकाम मन्थली तर्फ ल्याउने क्रममा बिहिवार राती बिच बाटोमा नै ज्यान गएको हो ।

घटनापछि मृतक कार्कीका आफन्तले बिच बाटोवाटै शव फर्काएर हाइड्रोपावरको गेटमा शब राखेर आन्दोलनमा उत्रिएका छन् । मृतक कार्कीका आफन्तहरुले मृतकको परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने र परिवारका सदस्यलाई उचित क्षतीपूर्ति दिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए । उनले आन्दोलनरत पिडीत पक्ष र हाइड्रोपावर बिच समझदारी भएपछि शव पोष्र्टमार्टम पछि आफन्तको जिम्मा लगाइने बताए ।

Scroll to Top