रामेछाप । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बिपत्त र अपराध नियन्त्रणमा नेपाल प्रहरीको ठूलो योगदान रहेको बताएका छन् ।
सो कुरा उनले सोमवार खाँडादेवी गाउँपालिकाको चोप्राङ्ग इलाका प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटन गर्ने क्रममा बताएका हुन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाल प्रहरीले विपद र अपराध नियन्त्रण लगाएतको क्षेत्रमा भुल्नै नसक्ने ठूलो योगदान रहेको बताए । प्रहरीले समाजमा गरेको कामको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले सिमित श्रोत र साधनको बिचमा पनि यती धेरै काम गर्ने प्रहरीलाई आवश्यक पूर्वाधार विकास र अपराध अनुसन्धानको क्षेत्रमा अझै तालिम प्रदान गर्ने हो भने प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा अझै फड्को मार्ने बताए ।
खाँडादेवीको चोप्राङ्गको प्रहरीको सुविधासम्पन्न २ तले भवन निमार्ण गर्ने जिम्मा खानी छायाश्वरी जेभी नयाँवानेश्वर काठमाण्डौंले कुल ४ करोड ६१ लाखमा निमार्ण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । कार्यालयसँग भएको सम्झौता बमोजीम समयमा नै भवन निमार्णको काम सम्पन्न गरी इलाका प्रहरी कार्यालय चोप्राङ्गलाई हस्तान्रण गरिएको खानी छायाश्वरी जेभीका प्रतिनिधि नवराज ढुंगेलले जानकारी दिए ।
सो भवन हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठ, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अनिता निरौला, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणा, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमवहादुर पराजुली लगाएतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले जग्गादाता नारायण कार्कीको परिवार र निर्माण व्यबसायी नबराज ढुंगेल तथा उज्जल सुवेलीलाई सम्मान गरेका थिए ।
त्यसैगरी हिजै सुनापति गाउँपालिकाको–२ वेथानमा निमार्ण सम्पन्न भएको २ तले प्रहरी चौकी भवनको पनि उद्घाटन भएको छ । ४ करोड ६१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त २ तले भवनमा कार्यालय, हिरासत, व्यारेक, कार्यालय प्रमुख निवास तथा शौचालय र भान्साघर समेत रहेका छन् । सो भवन पनि खानी छायाश्वरी जेभीले निमार्ण गरेको थियो ।