रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिवारदेखी घरदैलो अभियान शुरुवात गरेको छ ।
निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि तीन दिने घरदैलो अभियान सञ्चालन गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । ‘जन केन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वपाले घरदैलो अभियान सुरुवात गरेको हो । रास्वपाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने पनि प्रवक्ता ढकालले जानकारी दिए । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव सङ्कलन समेत गरिनेछ ।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्य लगायतका नेताहरु समेत उक्त कार्यक्रममा सहभागीता हुनेछ । रास्वपाले संचालन गरेको यो अभियानमा १ सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गरिने जनाइएको छ ।