भाइले हाने दाइलाई खुकुरी, अवस्था गम्भिर

रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्डको कुवुकास्थलीमा भाइले हानेको खुकुरी प्रहारवाट दाईको अवस्था गम्भिर रहेको छ ।

गएराती घरायसी विवाद हुँदा उमाकुण्ड गाउँपालिका–३ कुवुकास्थली स्थित कोलाका ओसिराम बस्नेतले आफ्नै दाजु ४९ बर्षिय देवहादुर बस्नेत माथी खुकुरी प्रहार गरेका थिए । भाइले हानेको खुकुरी प्रहारवाट दाजु देवहादुरको दुवै खुट्टा र दाहिने हातमा गहिरो चोट लागेको छ । उनलाई स्थानियहरुले घटनास्थलवाट तत्काल उद्धार गरी स्थानिय स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरेका थिए ।

स्थानिय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत थप उपचारको लागि काठमाण्डौं स्थित ग्रान्डी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शैलेन्द्र कुमार खड्काले जानकारी दिए । उक्त घटनापछि खुकुरी प्रहार गर्ने ओसिरामलाई खुकुरी सहित प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि वढाइएको पनि अधिकारी खड्काले बताए ।

Scroll to Top