रामेछाप । मन्थली नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवार साँझ देवकोटा चोकमा दिप प्रज्वलन गरी शुरुवात गरिएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर बाट आरम्भ भई डिसेम्बर १० सम्म सञ्चालन गरिने सो अभियानको शुरुवात दीप प्रज्वलन गरी जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काले गरेकी हुन । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएका उक्त कार्यक्रममा सहभागीहरुले कार्यक्रमको महत्व माथी प्रकाश पारेका थिए ।
नगरले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरुले अहिले पनि ग्रामिण भेगमा लैङ्गीक हिंसाका घटनाहरु भइरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । लैङ्गिक हिंसा अन्त्य गर्नको लागि सचेतनाका कार्यक्रमहरु लिएर गाउँमा समेत पुग्नुपर्ने धारणा राखेका थिए । लैङ्गिक हिंसाका घटनाहरु अहिले पनि घटिरहेको भएता पनि कतीपयले उक्त घटनाहरु बाहिर ल्याउन सकेका छैनन् ।
कार्यक्रमकी प्रमुख अतिथि समन्वय प्रमुख कार्कीले विगत वर्षहरुमा पनि लैङ्गिक हिंसाका कार्यक्रमहरु संञ्चालन भएता पनि समाजमा अहिले पनि घटनाहरु भने घटिनै रहेकाले यसलाई रोक्न सवैले म हिंसा गर्दिन र हिंसामा पर्दिन भन्ने मन्त्रलाई ध्यानमा राखेर अघि वढेमा लैङ्गिक हिंसाका घटनाहरु क्रमिक रुपमा घट्दै जाने बताइन ।