रामेछाप । केही व्यक्तिलाई राम्रो आम्दानी हुन्छ भन्दै वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी प्रलोवनमा पारी रकम ठगी गरेको आरोपमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ सैपुका २६ वर्षीय पोसाक सुनुवार प्रक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बेलुका काठमाण्डौंको म्हैपीबाट पक्राउ गरेको हो । प्रक्राउ परेका सुनुवारले टेकबहादुर गुरुङ लगाएतका केही व्यक्तिहरुलाई वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने र त्यहाँ एक प्रतिष्ठित कम्पनीमा जागिर लगाईदिने र प्रति महिना १ लाख रुपैयाँ तलव हुने भन्दै त्यहाँ जान प्रतिव्यक्ति ९ लाख ५० हजार रुपैयाँ लाग्ने बताएका थिए ।
सुनुवारको विश्वासमा परी माल्टा जाने मनसाय बनाएका गुरुङले पटक–पटक गरी ३ लाख ३० हजार रुपैयाँ दिएका थिए । उक्त रकम लिएपछि सुनुवार सम्र्पक विहिन भएका थिए । सो घटनापछि पिडीत गुरुङले प्रहरी प्रभाग काठमाण्डौंमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले सुनुवारलाई प्रक्राउ गरी थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।