रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलले हचुवाको भरमा रामेछापको सदरमुकाम मन्थलीमा आइतवार देखी लागुहुने गरी २ महिनाको लागि निषेधाज्ञा जारी गरेकी छिन् ।
जिल्लामा विना कारण निषेधाज्ञा जारी गरिएको यो पहिलो पटक हो । प्रजिअ निरौलाले जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम देहायको क्षेत्रमा २०८०÷१०÷१४ गते सम्म २ (दुई) महिनाका लागि निषेधाज्ञा जारी गरेको प्रजिअ द्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
प्रशासनले निकालेको निषेधाज्ञाको समयमा पाँच जना भन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भङ्ग भई शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
उक्त निषेधाज्ञामा मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ । सदरमुकाम मन्थलीमा कुनै पनि विरोधका कार्यक्रमहरु भएका छैनन् । प्रशासनले हचुवाको भरमा निषेधाज्ञा जारी गरेको भन्दै यसको चौतर्फी रुपमा आलोचना भइरहेको छ ।
प्रजिअले निकालेको निषेधाज्ञापछि नेकपा एमालेका नेता रमेश बस्नेतले जिल्ला प्रशासनले लोकतन्त्रको उपहास दिएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । चार दिनअघि जिल्ला प्रशासन कार्यालयको गेटमा ५ दिनसम्म अनसन बसेर हिँडेकी रामेछाप नगरपालिका–१ की बिनु यादवले पुनः अनसन बस्न सक्ने अनुमानको भरमा प्रजिअ निरौलाले निषेधाज्ञा जारी गरेको हुनसक्ने नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरले जानकारी दिए ।