विद्यालयको पठनपाठन सुधार गर्न खाँडादेवीले शुरु गर्यो थप कक्षा

रामेछाप । सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठन खस्कदै गएपछि खाँडादेवी गाउँपालिकाले थप कक्षा स‌चालन गरेको छ ।

अभिभावकहरुले बालबालिकाको पठनपाठन खस्किएको र विद्यालयले लिएको बार्षीक परीक्षामा समेत राम्रो अङ्क विद्यार्थीहरुले ल्याउन नसकेको भन्दै अभिभावकहरुले गाउँपालिकाको ध्यानकर्षण गराएपछि गाउँपालिकाको चालु आर्थिक वर्षमा शैक्षिक सुधारको लागि ५ करोड रुपैयाँ विनियोजन गरी सोही रकमवाट अहिले विद्यालयमा थप कक्षा संञ्चालन गरेको हो ।

पालिकामा रहेका ४७ वटा विद्यालयहरु मध्ये पहिलो चरणमा २२ वटा माध्यमिक विद्यालयहरुमा यो अभियान संचालन गरेको छ । जसअन्तर्गत पालिकाले विद्यार्थीहरुको लागि डे–बोडर्सको व्यवस्था गरेको हो । चालु आर्थिक वर्षलाई ‘शैक्षिक वर्ष’ घोषणा गरेको खाँडादेवी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि डे– बोडर्सको व्यवस्था गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत दैनिक न्यूनतम २ देखि ३ घण्टासम्म थप कक्षा सञ्चालन भइरहेको छ । खाँडादेवी गाउँपालिकामा रहेका ४७ वटा विद्यालयहरु मध्ये कक्षा ८ सम्म पढाइ हुने ८ वटा र माध्यमिक तहका १२ वटा विद्यालय रहेका छन् । गाउँपालिक भित्रका ४७ विद्यालयहरु मध्ये कक्षा ८ सम्म पढाइ हुने २० वटा विद्यालयमा मात्र कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।

कक्षा–८ को परीक्षा पालिका स्तरीय हुने भएकोले त्यसलाई फोकस गरिएको हुँदा कक्षा ५ सम्ममात्र पढाइ हुने आधारभूत तह छुटेको छ । कक्षा ५ सम्मका लागि दिवा खाजाको व्यवस्था सरकारले पहिलेदेखि नै गर्दै आएको छ । अहिले गाउँपालिकाका कक्षा १० सम्म पढाइ हुने सबै विद्यालयमा खाजाको व्यवस्था समेत पालिकाले गर्दै आएको छ ।

पालिकाले दिवा खाजाको लागि एक विद्यार्थी वापत दैनिक २० रुपैयाँ व्यवस्था गरेको शिक्षा शाखाका प्राविधिक सहायक प्रेमलाल रिजालले बताए । विद्यालयमा थप कक्षा सञ्चालन गरेर पढाई शुरु भएपछि अहिले विद्यार्थीहरुको पढाईमा नै निकै सुधार भएको गाउँपालिकाको ठम्याई छ ।

Scroll to Top