
रामेछाप । रामेछाप नगरपालिका–८ मानेडाँडामा लु ९६ प १९६० नम्वरको मोटरसाइकलले सडकमा हिड्दै गरेका एक बालकलाई ठक्कर दिदा उनको ज्यान गएको छ ।

मोटरसाइकलको ठक्करवाट ज्यान गुमाउनेमा छिमेकी मुलुक भारत घर भई रामेछापडाँडामा रहेको एक मोटरसाइकल वर्कशपमा काम गर्ने जाबेद खानको ७ वर्षका छोरा मुराज खान रहेका छन् । सदरमुकाम मन्थलीवाट शनिवार दिउँसो रामेछापडाँडा तर्फ जादै गरेको उक्त मोटरसाइकलले सडकमा हिड्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।

घटनापछि घाइते भएका ती बाललकको घटनास्थलवाट उद्धार गरी जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धुलीखेल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान (आइतवार) ज्यान गएको हो ।
घटनापछि उक्त मोटरसाइकलका चालक नयाँ गोरख गण रामेछापमा कार्यरत मन्थली नगरपालिका–२ का वर्ष २३ का अशोक थापालाई प्रहरी चौकी रामेछापडाँडाले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।