मन्थली नगरपालिका वडा नं १ ले गर्यो ५७ घरपरिवारलाई निःशुल्क स्वास्थ्य विमा

रामेछाप । आर्थिक अभावका कारण स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन नसकेका मन्थली नगरपालिका वडा न १ का ५७ असाहाय, गरिव घर परिवारलाई वडा कार्यालयले निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ ।

राज्यले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको लामो समय भएता पनि आर्थिक अभावका कारण स्वास्थ्य विमा कार्यक्रममा सहभागी हुन नसकेका मन्थली नगरपालिका वडा नं १ मन्थलीका ५७ घर परिवारलाई वडा कार्यालयले सबै शुल्क हालिदिएर स्वास्थ्य विमा कार्यक्रममा सहभागी गराएको हो । गएको आर्थिक वर्षमा पनि वडा कार्यालयले आफ्नो वडा भित्र निःशुल्क स्वास्थ्य विमा कार्यक्रम मार्फत करिव ६० जना असाहाय र गरिव घर परिवार छनौट गरी विमा गरिदिएको थियो ।

सरकारले एक घरपरिवारको लागि १ लाख वरावरको स्वास्थ्य विमा गरिदिएको समाचार रेडियो मार्फत सुनेको भएता पनि आफुसँग स्वास्थ्य विमा अभिलेख गर्न शुरुमा लाग्ने ३५ सय रुपैयाँ नहुँदा उक्त सेवावाट विमुख हुनु परेको मन्थली नगरपालिका वडा नं १ का भक्तवहादुर भुजेलले बताए । उनले भने– स्वास्थ्य विमा गर्न मन थियो तर धन थिएन् । अहिले स्वास्थ्य विमाको पहुँच पुग्न नसकेकाको हकमा वडा कार्यालयले नै रकम हालिदिएर स्वास्थ्य विमा गराइदिएकोमा निकै हर्षित छु ।

आर्थिक अभावका कारण वडा भित्र वसोवास गर्ने कुनै पनि नागरिकहरुले स्वास्थ्य सुविधावाट वञ्चित हुनु नपरोस् भन्ने उद्धेश्यले वडा कार्यालयमा आएको वजेटवाट यस चालु आर्थिक वर्षमा ५७ घर परिवारलाई स्वास्थ्य विमा कार्यक्रममा जोडिएको मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेलले जानकारी दिए ।

स्वास्थ्य विमा गर्न नसकेका नागरिकहरुको शुरुको पहिलो वर्ष वडा कार्यालय मार्फत स्वास्थ्य विमाको रकम भुक्तानी गरिदिएर नाम दर्ता गरिदिएपछि आगामी वर्षदेखी नविकरण सम्वन्धित घरधनीले नै गर्नुपर्ने प्रावधान रहेको मन्थली नगरपालिका वडा नं १ का वडा सचिव शेषराज पौडेलले बताए ।

Scroll to Top