रामेछाप । जिल्लाको उत्तरी विकट क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार कोशेली लिएर सुत्केरी महिला भेट्न घरघरमा पुग्ने गरेकी छिन् । पालिकाले शुरु गरेको यो कार्यक्रम गाउँमा प्रभावकारी बन्दै गएको छ ।
पालिकाले मातृ शिशु मृत्यु दर घटाउने मुख्य उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले गर्भवती महिलाहरूले समयमा स्वास्थ्य जाँच गराउने, अस्पतालमा सुत्केरी हुने सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा मार्फत चालु आर्थिक वर्ष २०८०÷८१ मा उपाध्यक्षसँग सुत्केरी भेट कार्यक्रममा गर्ने गरी वजेट व्यवस्थापन गरेसँगै अहिले उक्त कार्यक्रम सो पालिकामा प्रभावकारी बन्दै गएको हो ।
यस चालु आर्थिक वर्षमा (फागुन महिना) हालसम्म पालिका भित्र सुत्केरी भएका ५६ जना महिलाहरुलाई उपाध्यक्ष सुनुवारले कोशेली सँगै सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य बारे जानकारी लिन स्वास्थ्यकर्मी सहित लिएर घरघरमै भेट्न पुग्ने गरेकी छिन् ।
स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गराउन पुगेका महिलाहरुको कर्मचारीहरुले लिष्ट उतारेर राख्ने गरेका छन् । सोही लिष्ट अनुसार कुन गाउँमा कतीजना महिला गर्भवती छन् भन्ने एकिन गर्न सहज हुने गरेको छ । अर्कोतर्फ महिलामा चेतनाको विकास भएसँगै यसअघि घरमै सुत्केरी हुने महिलाहरु पनि सुत्केरी गराउन अहिले नजिकैको स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । पालिकाले सुत्केरी हुने महिलाहरुलाई उपाध्यक्षसँग सुत्केरी भेट कार्यक्रम मार्फत लोकल अण्डा, चामल, हर्लिक्स, मौसम अनुसारको फलफूल, गेडागुडी सहित ३ हजार ५ सय रुपैयाँ बराबरको सामाग्री प्रदान गर्दै आएका छ ।
पालिकाले शुरुवात गरेको उपाध्यक्षसँग सुत्केरी भेट कार्यक्रम निकै राम्रो भएको उमाकुण्ड गाउँपालिका–२ वाम्तीकी लक्ष्मी तामाङले बताइन । उनले भनिन्– यसअघि गर्भवती हुँदा पनि स्वास्थ्य जाँच गराउन स्वास्थ्य संस्था नजाने महिलाहरु यहिले पालिकाले स्वास्थ्य जाँच गराउने र स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने महिलालाई सहयोग गर्ने भएपछि स्वास्थ्य जाँच गराउन नियमित जाने गरेको बताइन ।
कोशेली लिएर सुत्केरी भेट्न दुरदराजमा पुगेर उनीहरुसँग साक्षत्कार गर्न पाउँदा आफुलाई निकै खुशी लाग्ने गरेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले बताइन । उनले भनिन्– पालिकामा भर्खरै शुरु गरेको यो कार्यक्रम समुदायमा निकै प्रभावकारी भएको महसुस गरेको छु । एकातिर सुत्केरी महिला भेट्न जाँदा उनीहरुको पारिवारीक अवस्था बुझ्न सहज हुने र कतिपय आर्थिक अवस्था कमजोर भएका महिलाहरुको अवस्थामा बुझेर थप मद्दत गर्न पनि सकिने भएकाले पनि गाउँका महिला दिदी बहिनीहरुले यो कार्यक्रम निकै मन पराउनु भएको छ