काठमाण्डौं । होली खेल्ने क्रममा भएको दुई छुट्टाछुट्टै घटनामा एकै दिन ५ जनाले ज्यान गुमाएका छन् ।
होली खेलेर सुनकोशी नदीमा नुहाउन गएका उदयपुर त्रियुगा नगरपालिका–१४ साउनेका तीन जना बालक वेपत्ता भएका छन् भने होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा दुई समुहबिच विवाद हुँदा दुई युवाको ज्यान गएको छ ।
होली खेलेर सुनकोशी नदीमा नुहाउन गएका उदयपुर त्रियुगा नगरपालिका–१४ साउनेका १२ वर्षीय लोकबहादुर मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय रेखा मगर रहेका छन् । उनीहरूसँगै कोसीमा डुबेका लोकचन्द्र मगर र प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । नदीमा बेपत्ता भएकाहरुको प्रहरी र स्थानियहरु मिलेर खोजी कार्य भइरहेको छ ।
त्यसैगरी ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समुहविच विवाद हुँदा गएराती दुई युवाले ज्यान गुमाएका छन् । होली खेल्ने क्रममा दिउँसो सामान्य विवाद भएको सोही विवादलाई लिएर गएराती दुई युवाविच हानाहान भएको थियो । उक्त घटनामा परी ज्यान गुमाउनेमा सुनसरीको धरान घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार उक्त घटनामा संलग्न भएको आशंकमा प्रहरीले १८ जना युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि वढाएको छ ।