चोरी गर्ने तीन युवालाई प्रहरीले गर्यो सार्वजनिक

रामेछाप । दोरम्वा शैलुङ गाउँपालिका–४ स्थित पासेवन ओख्रेनीका ८८ बर्षिय हर्कवहादुर नगरकोटीको घर तोडफोड गरी चोरी गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–४ बस्ने ३४ वर्षीय रोहित बहादुर थापामगर, सोही गाउँपालिका– २ दोरम्वाका २२ वर्षीय तेजबहादुर थापामगर र मकवानपुरको हेटौडा उप–महानगरपालिका–५ बस्ने मेबहादुर राइको ४० वर्षीय छोरा खेम राई रहेका छन् ।

उनीहरुले मगंलवार राती १२ः३० वजेको समयमा नगरकोटीको घरको मुल ढोका फोडी नगरकोटीका दम्पतीलाई कुटपिट गरी घरमा भएको १५ हजार नगद र २ तोलाको सुनको गरगहना चोरी फरार भएका थिए । घटनापछि तत्कालै नगरकोटीले छिमेकीको सहयोगमा इलाका प्रहरी कार्यालय टोकरपुरमा खवर गरेका थिए । घटनापछि प्रहरीले चोरीमा संलग्नको खोजी कार्यमा जुटेको थियो ।

चोरीमा संलग्न चोरहरुले नगद र सुन लिएर छिमेकी दोलखाको मागापौवा भन्ने स्थानमा लुकीछिपी बसेको सूचनाको आधारमा उनीहरुलाई वुधवार उक्त स्थानवाट नियन्त्रणमा लिएको हो । प्रहरीले तिनैजनालाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए ।

Scroll to Top