रामेछाप । आज बिहानै देखी सोलुको लुक्लाको मौसम खराबीका कारण रामेछाप बिमानस्थलवाट लुक्ला उडान हुन नसक्दा लुक्ला जान हिडेका विदेशी पर्यटकहरु रामेछाप विमानस्थलमा अलपत्र परेका छन् ।
विहानैदेखी सोलु विमानस्थलको भिजिविलिटी कम हुँदा रामेछापवाट लुक्ला जाने सवै जहाज रामेछाप विमानस्थलमा नै होल्ड गराएएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख प्रज्वल गुरागाईले जानकारी दिए । उनले भने– लुक्ला विमानस्थलको भिजिविलिटी कम हुँदा जहाजले अवतरण गर्ने अवस्था छैन् । तर हेलिकोप्टरले भने दिउँसो १ः१५ वजेदेखी रामेछाप देखी सुर्खेतसम्म चार्टर उडान भने भर्दै आएका छन् ।
प्रतिकुल मौसमका कारण आज लुक्ला तर्फ जहाज जान सक्ने अवस्था नदेखिएको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । रामेछापको मौसम सफा रहेता पनि लुक्लातर्फको मौसम खराब भएकाले जहाज उडान हुन नसकेको हो । मौसम खरावीका कारण सोलुको सगरमाथा आधारशिविर तर्फ हिडेका करिव २ सय विदेशी पर्यटकहरु रामेछाप बिमानस्थलमा मौसम सुधारको पर्खाइमा बसेका छन् ।
काठमाण्डौं विमानस्थलवाट नियमित सोलु तर्फको उडान भर्दा दैनिक ट्राफिक जाम भएका कारण नागरिक उड्डयन प्राधिकरणले सोलु तर्फको उडान रामेछाप विमानस्थलवाट गर्ने गरी व्यवस्थापन गरेको थियो । विमानहरुले बशन्त ऋतुमा चैत्रदेखी जेठ महिनासम्म र शरद ऋतुको असोज महिनादेखी मंङसिरको १५ सम्म उडान भर्दै आएका छन् ।
सोलुको लुक्ला जाने पर्यटकहरुलाई ट्राभल एजेन्सीहरुले विपी राजमार्ग हुँदै सवारीसाधन मार्फत रामेछाप विमानस्थलमा ल्याउने र यहाँवाट हवाईजहाज मार्फत लुक्ला उड्ने व्यवस्थापन गरेका छन् । रामेछाप विमानस्थलवाट दैनिक समिट यएर, तारा एयर र सिता यएरले विदेशी पर्यटकहरुलाई नियमित रुपमा सुविधा प्रदान गर्दै आएका छन् ।