अरुणा के.सी.-
रामेछाप । रामेछापमा रहेको जिल्ला जेष्ठ नागरिक संघको अध्यक्षमा नारायणदास श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको संघको छैटौं साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनले पुनः दोश्रो कार्यकालका लागि पनि श्रेष्ठ नै सर्वसम्मत निर्वाचित भएका हुन् । उनले यसअघि पनि एक कार्यकाल अध्यक्ष पदमा रहेर काम गरेको अनुभव हासिल गरिसकेका छन् । श्रेष्ठको अध्यक्षमा अन्य १५ सदस्यीय कार्यसमिति समेत निर्विरोध निर्वाचित भएका छन् ।
संघको उपाध्यक्षमा श्रीराम न्यौपाने, सचिवमा अर्जुन प्रसाद घिमिरे, सह–सचिवमा बीरवहादुर खड्का र कोषाध्यक्षमा पुरुषोत्तम घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी संघको सदस्यहरुमा क्रमशः भक्त कुमारी ढुङ्गेल, केदार प्रसाद दाहाल, केदार प्रसाद ढुंगेल, तोरण बहादुर खड्का, टिका बहादुर थापा, ज्ञान भक्त श्रेष्ठ, यमकुमारी कार्की,राजकुमारी माझी,रामभक्त श्रेष्ठ र शुक्र बहादुर माझी निर्वाचित भएका छन् ।
संघका अध्यक्ष नारायणदास श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की)को प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिको आसनवाट बोल्दै समन्वय प्रमुख खड्काले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न सक्नुपर्ने बताइन । सोही कार्यक्रमको अवसर पारेर ८० वर्ष भन्दा माथिका ६० जना जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा संघका कोषाध्यक्ष कृष्ण प्रसाद ढुंगेलले तयार पारेको ६ लाख १० हजार ७ सय ८७ रुपैयाँको आर्थिक प्रतिवेदन र सचिव कोमल श्रेष्ठले तयार पारेको संघको सांगठनिक प्रतिवेदन समेत उक्त अधिवेशनले सर्वसम्मत रुपमा पास समेत गरेको छ ।