
रामेछाप । अनुमति नै नलिएका औषधी विक्री वितरण गर्दै आएका रामेछापका दुई औषधी पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले शिल गरेको छ ।

औषधी व्यवस्था विभागका प्रतिनिधिहरु सहितको अनुगमुन टोलीले मंगलवार सदरमुकाम मन्थलीमा औषधी पसल तथा अस्पतालहरु अनुगमन गरेको थियो । अनुगमनको क्रममा औषधी विक्रेताहरुले नागरिकको स्वास्थ्य जस्तो संवेदनशिल कुरामा खेलवाड गरी औषधी विक्री गर्न अनुमती नै नलिएका औषधीहरु आफुखुशी विक्रीवितरण गर्दै आएको र धेरै औषधीहरु स्टोरमा संचय गरी राखेको अनुगमन समितिले भेटेपछि सदरमुकाम मन्थलीमा संञ्चालित दिपसन फार्मेसी र साँकुरा मेडिकल हल गरी दुई औषधी पसलमा सिल गरेको हो ।

अनुगमन टोलीले दिपसन फार्मेसीले दर्ता नभएको (scalp lotion (permethrin 5%),sket shampoo, सञ्चय गरेको, सम्बन्धित व्यवसायी फार्मेसीमा नभएको, व्यक्तिको नाममा दर्ता रहेको फार्मेसीमा Tramadol injection सञ्चय गरेको र oxytocin injection फ्रिज बाहिर सञ्चय गरेको जस्ता लापरबाही गरेको भेटिएपछि उक्त फार्मेसीलाई औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४(क) बमोजिम उक्त पत्र बुझेको मितिले ३५ दिन बन्द (निलम्बन) गर्दै कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको छ ।
त्यसैगरी अनुगमन समितिले साँकुरा मेडिकल हलमा पनि दर्ता नभएको canzid (clotrimazole) powder, scalp lotion सञ्चय गरेको, Spasmo, Pregabalin औषधीहरू बिक्री गरिसकेको (secondary packaging material) फोहोर फाल्ने कार्टुन हेर्दा १२ थान देखा परेको भन्दै साँकुरा मेडिकललाई पनि औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४(क) बमोजिम उक्त फार्मेसीलाई पत्र बुझेको मितिले २१ दिन बन्दसम्म कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत प्रकाश प्रधानले जानकारी दिए ।