रामेछाप । खानेपानीको लागि ईनार खन्ने क्रममा ईनार भित्रै अचेत भएका रामेछापका दुई युवकको उपचारको क्रममा ज्यान गएको छ ।
ज्यान गुमाउनेमा उमाकुण्ड गाउँपालिका–४ प्रितीका २८ बर्षिय सन्देश सुनुवार र उनका काका ४६ बर्षिय दीपक सुनुवार रहेका छन् । उनिहरु भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खनालचोकमा जग्गा भाडामा लिएर टहरो निमार्ण गरी दुई वर्षदेखी बस्दै आएका थिए ।
सोही जग्गामा पानीको लागि ईनार खन्ने क्रममा ५५ फिट गहिराईमा पुगेपछि उनीहरु अचेत भएका थिए । ईनार खन्दै गरेका काका भतिज धेरै समयसम्म बाहिर ननिस्कएपछि स्थानियहरुले ईनार भएको ठाउँमा गएर हेर्दा दुवैजना वेहोस अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
स्थानियको सूचना पाउनासाथ विपद व्यवस्थापन महाशाखा र शसस्त्र प्रहरी सहितको टोली घटनास्थलमा पुगि उद्धारमा जुटेको थियो । प्रहरीको उद्धार टोलीले घटनास्थलवाट उद्धार गरी तत्काल उपचारको लागि भक्तपुर अस्पतालमा पु¥याईपनि उनीहरु दुवैलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत राजन कार्कीले जानकारी दिए ।