
रामेछाप । जंगलमा लागेको डढेलोले खानेपानीको पाइप जल्दा मन्थली नगरपालिका–१ दाहालगाउँ र नालामी टोलका ४० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् ।

शनिवार साँझ मन्थली नगरपालिका–१ खोक सामुदायिक वनमा लागेको डढेलो सँगै दाहालगाउँ र नालामी टोलमा वितरण गरिएको खानेपानीको पोलिथिन पाइप आगोले पूर्णरुपमा जलेपछि दुई दिनदेखी त्यस गाउँमा खानेपानीको अभाव भएको हो । आगलागीमा परी उपभोक्ताले खरिद गरी आ–आफ्नो घरमा लगेको पाइप लाइन पूर्णरुपमा जलेको छ ।

सोही आगलागीमा परी मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाई समितिले आर्मी क्याम्प नजिकैको रिर्जभ ट्याङ्कीबाट गिद्धबस्ने बर्राको रुख छेउमा निमार्ण गरेको रिर्जभ ट्याङ्कीसम्म लगेको मेन लाइनको पोलिथिन पाइप समेत आगलागीमा परी ठाउँठाउँमा जलेको छ । एकातिर मेन लाइनकै पाइप आगलागीमा परी जलेको र अर्कोतर्फ रिर्जभ ट्याङ्कीवाट उपभोक्ताको घरसम्म लगेको पोलिथिन पाइप सबै जलेपछि खानेपानी वितरणमा समस्या भएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाई समितिका व्यवस्थापक जगदीश सुबेदीले जानकारी दिए ।
उनले भने– आगलागीले पोलिथिन पाइपलाइन पूर्णरुपमा नष्ट भएको छ । उपभोक्तालाई पानी वितरण गर्नको लागि समितिले पाइप खोजी रिर्जभ ट्याङ्कीसम्म पानी लैजानको लागि काम भइरहेको छ । समितिमा पाइप स्टक नभएका कारण समस्या रहेको छ । हामीले अहिले तत्काल अस्थायी रुपमा पुरानो पाइप जोडेर भएता पनि उपभोक्तालाई पानी खुवाउने तयारी गरेका छौं । सम्भवत भोली बेलुकासम्म पानी वितरण गर्ने गरी कामलाई तिव्रता दिएको ब्यवस्थापक सुबेदीले बताए ।

भुकम्पपछि दाहालगाउँमा रहेको पधेँरा कुवाको पानी सुकेपछि दाहालगाउँका नागरिक खानेपानीवाट बञ्चित भएका थिए । पछि मन्थली सामुदायिक खानेपानी उपभोक्ता समितिले उक्त गाउँमा खानेपानी पुर्याएपछि त्यहाँका उपभोक्ताहरुलाई राहात पुगेको थियो । अहिले जंगलमा लागेको आगलागीले गर्दा खानेपानीको पाइप जल्दा गाउँमा खानेपानीको हाहाकार भएको मन्थली नगरपालिका–१ दाहालगाउँका हरीराम भुजेलले बताए ।