
रामेछाप । जिल्लाको विभिन्न सामुदायिक वनमा आगलागी गर्दै हिड्ने दुई र घर चोरी गर्ने एक युवक गरी दुई छुट्टा–छुट्टै घटनामा तीन युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।

जिल्लाका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिड्ने लिखु तामाकोशी गाउँपालिका–३ विजुलीकोटका २३ बर्षिय अशोक महत र रामेछाप नगरपालिका–३ साँघुटारका सुबास महतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मध्ये अशोकले रामेछाप नगरपालिका–१ गोठगाउँ र वडा नं ३ साँघुटारका सामुदायिक वनमा आगो लगाउँदै हिड्दा उनलाई प्रहरीको टोलीले प्रक्राउ गरेको हो ।

त्यसैगरी सुबास महतले रामेछाप नगरपालिका–१ गोठगाउँको कालिकादेवी गाईखुरा सामुदायिक वन ठूलीभिर नजिकैको जंगलमा आगो लगाउँदै गर्दा स्थानियले देखेपछि प्रहरीमा खवर गरेका थिए । स्थानियको सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीको टोलीले उनलाई सोही स्थानवाट पक्राउ गरेको हो ।
सामुदायिक वनमा आगो लगाउँदै हिड्ने दुवैजनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिई वन ऐन अन्तर्गत मुद्धा चलाउन डिभिजन वन कार्यालय रामेछापलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप सिंहले जानकारी दिए ।
त्यसैगरी मन्थली नगरपालिका–१ खाँदवारीमा घर चोरी गरेको आरोपमा एक युवक प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ का रामवहादुर कार्की रहेका छन् ।
उनले वैशाख १ गते मन्थली–१ खाँदवारीका टीकावहादुर मगरको घरको मुल ढोकाको ताल्चा तोडी २ थान तामा र पितलको गाग्री, २ थान चरेसको झर्का थाल, २ थान ढलौटको अम्खरा र अन्य भाडाकुडा चोरी गरेका थिए । उक्त घटनापछि चोरी गर्ने व्यक्तिको खोजी गरी आवश्यक कारवाही गरीपाउँ भन्दै पिडीत मगरले जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका थिए ।
यता मगरको घरवाट चोरी गरेका भाँडा कार्कीले सिन्धुलीको खुर्कोट स्थित पर्सा बीरगन्ज महानगरपालिका–२२ मतिहारीका श्यामबाबु सोनारलाई विक्री वितरण गरेका थिए । चोरीका सामान खरिद गर्ने श्यामबाबुलाई सामान सहित प्रहरीले प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पनि प्रहरी प्रमुख सिंहले बताए ।