
रामेछाप । अबिरल वर्षाका कारण बिहिबार साँझ खाँडादेवी गाउँपालिका–६ फर्पुमा गएको पहिरोमा परी ज्यान गुमाएका तीन किशोरीका परिवारलाई प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले पिडीतको घरमै पुगेर आर्थिक सहयोग गरेका छन् ।

अबिरल वर्षाका कारण घर पछाडीबाट झरेको पहिरोवाट घरमा क्षती पुुगी घरभित्र सुतिरहेका १८ वर्षीय सिता तामाङ, १५ वर्षीय आशिका दोङ र १३ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको थियो । मृतकका परिवारलाई सभाषद कान्छारामले शनिवार पिडीतको घरमै पुगी सान्तवना प्रदान गरेका थिए भने प्रति मृतक १०/१० हजारका दरले आर्थिक सहयोग उपलव्ध गराएका हुन् ।

हाल गएको पहिरोको स्थानवाट केही घरलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने अवस्था रहेकाले तत्काल बस्ती स्थान्तरणको लागि आवश्यक पहलकदमी गरिदिन गोकुलगंगा गाउँपालिका–६ का वडा अध्यक्ष चन्द्रवहादुर सुनुुवारले सभाषद कान्छारामसँग आग्रह गरे । वडा अध्यक्षले राखेको प्रस्तावलाई तत्काल कार्यान्वयन गर्न र स्थान्तरण हुने जग्गामा विद्युत, खानेपानी पुर्याउन नेपाल विद्युत प्राधिकरण र खानेपानी तथा सरसफाई डिभिजन नं ४ लाई निर्देशन दिएका छन् ।
पहिरोमा परी ज्यान गुमाएका मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहात रकम प्रदान गरेको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले आवश्यक लत्ता कपडा र बाल्टिन उपलव्ध गराएको थियो भने राष्ट्रिय युवासंघ नेपालले आर्थिक,लत्ता कपडा र खाद्यान्न सहयोग गरेका थिए ।