बाढीले रामेछापका सयौं रोपनी धान खेत बगरमा परिणत

रामेछाप । केही दिनदेखी आएको अविरल वर्षाका कारण जिल्लाका विभिन्न खोलाहरुमा आएको बाढीका कारण सयौैं रोपनी धान खेत बगरमा परिणत गरिदिएको छ ।

गएराती आएको अविरल वर्षाका कारण रामेछाप नगरपालिका वडा नं २ र ३ को सिमाना भई वहने कलचुडे खोला, देवीथान खोला, जयमुन्दे खोला र सिम्ले खोलामा आएको बाढीले ५ सय रोपनी भन्दा वढी धान खेत बगरमा परिणत भएको रामेछाप नगरपालिका–३ का शम्भु बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाले हिउँदको समयमा सडक खनेको माटो खोलामा लगेर थुपारिदिदा खोलामा आएको पानी सहज रुपमा बग्न नसकेपछि खोलो खेतमा पसेको थियो । किसानले लगाएको धान खेत बगरमा परिणत हुनुमा सडक निमार्ण आयोजना भएकाले त्यही अनुसार किसानहरुलाई आयोजनाले क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने बुढाथोकीको तर्क रहेको छ ।

त्यसैगरी गएराती नै मन्थली नगरपालिका–२ कठजोर खोलामा आएको बाढीले खोला आसपासका करिव १ सय रोपनी भन्दा बढी धान खेत पनि खोलाले वगाएको छ । राती अकस्मात आएको खोलाले आसपासको धान खेत कटान गर्नुको साथै सवै रोपो पुरेको मन्थली नगरपालिका–२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार खोलामा आएको बाढीले खिम्ती मन्थली जोड्ने कठजोर खोलाको मोटेरेबल पुलमा समेत क्षती पुर्याएको छ ।

Scroll to Top