प्रमुख नहुँदा नागरिकको काम प्रभावित

रामेछाप । मालपोत कार्यालय रामेछापमा कार्यरत कार्यालय प्रमुख सरुवा भएर तीन हप्ता अघि जिल्ला छाडेपछि उक्त कार्यालय प्रमुख बिहिन बन्न पुगेको हो ।

कार्यालय प्रमुुख सरुवा भएर हिडेका र नयाँ कार्यालय प्रमुख तालुके कार्यालयले नपठाउँदा मालपोत कार्यालय निमित्तको भरमा संचालन भएता पनि प्रमुख नहुँदा नागरिकहरुको सम्पूर्ण कामहरु रोकिएका छन् । प्रमुख नहुँदा कार्यालयवाट निर्णय गर्नुपर्ने कामहरु, नामसारी, घर कायम, संशोधन लगायतका कामहरु रोकिएको मालपोत कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख दामोदर सुवेदीले जानकारी दिए ।

उनले भने– अहिले कार्यालय प्रमुख नहुँदा राजीनामा पास, दृष्टि बन्धक, बकस पत्र, लगायतका सामान्य कामहरू भएका छन् । त्यसवाहेकका कामहरु भने हुन सकेका छैनन् । कार्यालयमा काम लिएर टाढाटाढावाट आएका सेवाग्राही प्रमुख नहुँदा त्यतिकै फर्कने गरेका छन् । हामीले तत्काल कार्यालय प्रमुख पठाइदिन वा यहीँ भएका जेष्ठ कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिने गरी परिपत्र गरेका छौं ।

मालपोत कार्यालय कमाई हुने कार्यालयको रुपमा चिनिदै आएको छ । तर रामेछाप मालपोत कार्यालयमा भने तल्लो दर्जाका कर्मचारीकै हालिमुहाली भएका कारणले पनि प्रमुख बस्न नै नमान्ने गरेको एक कर्मचारीले जानकारी दिए । उनले भने– हाकिम आए पनि यहाँका कर्मचारीहरुले केही न केही बहाना बनाए बस्नै दिदैनन् । यहाँ हाजिर भएर जाने प्रमुखले अन्य कर्मचारीहरुलाई रामेछाप मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरुको हर्कतको बिषयमा जानकारी गराएपछि मन्त्रालयवाट अन्य प्रमुखहरु रामेछाप आउँनै मान्दैनन् ।

मन्त्रालयवाट रामेछाप सरुवा भएर आउने अधिकासं कार्यालय प्रमुख आफ्नो सरुवा हुने अवधि नपुुग्दै सरुवा मागेर हिड्ने गरेका छन् । मालपोत रामेछापमा आउने मालपोत प्रमुख कसैले पनि अवधिसम्म बसेका छैनन् । प्रमुख नबस्नुमा एकातिर स्थानिय पुराना कर्मचारीको हालीमुहाली अर्कोतर्फ सुगम जिल्लाको तुलनामा दुर्गम मानिएको हिमाली जिल्ला रामेछापमा कमाई पनि कमी हुने भएकाले मालपोतका हाकीमहरु रामेछाप आउनै नमान्ने गरेको मालपोतकै एक कर्मचारीले बताए ।

मालपोत कार्यालयमा प्रमुख नहुँदा टाढाटाढाबाट आउने सेवाग्राहीहरुले दुःख पाउनु परेको गोकुलगंगा गाउँपालिका–१ चुचुरेका दोरण खड्काले जानकारी दिए । मालपोतमा नामसारीको काम होला भनेर धेरै खर्च गरेर गाडी भाडा रिर्जभ गरेर आइयो । तर कार्यालयमा प्रमुख नहुँदा त्यतिकै खाली हात फर्कनु परेको गुनासो खड्काले गरे ।

मालपोतमा प्रमुखको दरवन्दी भएता पनि सधै निमित्तको भरमा संचालन हुनु दुुःखद भएको मन्थली नगरपालिका–१ का सुजन घिमिरेले जानकारी दिए । उनले भने– मालपोतमा स्थानिय र पुराना कर्मचारीको हालीमुहाली छ । वर्षौदेखी कर्मचारीको सरुवा भएको छैन् । केही कर्मचारीहरुको सरुवा भएता पनि सो कार्यालयका तत्कालिन प्रमुखले आर्थिक प्रलोभनमा परी सरुवा भएका कर्मचारीलाई रमाना समेत नदिई गुपचुप बस्ने गरेका छन् ।

Scroll to Top