रामेछाप । जिल्लाका विभिन्न स्थानमा चोरीका सामान सहित पक्राउ परेका ७ जनालाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको छ ।
यसरी पुर्पक्षका लागि कारागार चलान हुनेमा मकवानपुर जिल्ला हेटौँडा उप–महानगरपालिका–१ लाल झाडी घर भई हाल मन्थली नगरपालिका–१ बसपार्क बस्ने वर्ष ४५ का सरोज कुमार विश्वकर्मा, मन्थली नगरपालिका–१ बसपार्क बस्ने वर्ष ३४ का हर्कबहादुर भुजेल, सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–२ भिमस्थानका वर्ष ४५ का नरेश लामा (तामाङ) र धनुषा जिल्ला मिथिला नगरपालिका–४ पुष्पलपुरका वर्ष ३० का धनराज बम्जन रहेका छन् ।
त्यस्तै चोरीमा संलग्न भई पुर्पक्षको लागि कारागार चलान हुनेमा जिल्ला सर्लाही ब्रम्हापुरी नगरपालिका–६ स्थायी बस्ने अन्दाजी वर्ष ४० की कुमुम कुमारी, सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारत विहार दोस्तीयाथाना–७ वस्ने अन्दाजी वर्ष ३२ को तपश्वेर महतो रहेका छन् । उनीहरुको समुहले साउन ३१ गते मन्थली नगरपालिका–४ सालु सामलस्थानका सोमवहादुर खत्रीको घरवाट मोवाइल चोरी गरेका थिए ।
उनीहरुले विभिन्न मितिमा रातको समयमा मन्थली नगरपालिकाका नागरिकहरुको घरमा चोरी गरेका थिए । जसमध्ये साउन ३१ गते मध्य राति मन्थली नगरपालिका–१ स्थित वीरबहादुर तामाङको घर फोरेर गरगहना, नगद तथा भाडा वर्तन चोरी गरेका थिए । त्यसै असार १५ गते राति मन्थली नगरपालिका–१ खादवारी स्थित यमबहादुर थापाको घरको मूल ढोकामा राखिएको दुई वटा पित्तलको गाग्री र २ वटा तामाको कलश चोरी गरेका थिए ।
पछिल्लो समय रामेछापमा चोरीका घटना बढेसँगै प्रहरीले चेकिङ्ग र निगरानी बढाएको छ । प्रहरीले निगरानी बढाएसँगै जिल्लामा पहिलो पटक एकैपटक ७ जना चोरलाई चोरीका सामान सहित पक्राउ गरी मुद्धा चलाएर रामेछाप जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतले सातैजनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने फैसला सुनाएपछि हिजो सवैजनालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए ।