रामेछाप । ४० दिनदेखी मालपोत कार्यालय रामेछापका प्रमुख नहुँदा मालपोत कार्यालयवाट प्रदान गरिने अधिकासं सेवा प्रभावित भएका छन् ।
मालपोत रामेछापमा कार्यरत कार्यालय प्रमुखको मन्त्रालयले अन्यत्र जिल्लामा सरुवा गरी पठाएपछि उक्त ठाउँमा नयाँ कार्यालय प्रमुख मन्त्रालयले जिल्लामा नपठाउँदा मालपोत कार्यालयवाट प्रदान गरिने अधिकासं सेवा प्रभावित हुन पुगेको हो । कार्यालयवाट प्रदान गरिने सेवा अवरुद्ध हुँदा कार्यालयमा जिल्लाको दुरदराजबाट सेवा लिन आउने सेवाग्राही मारमा परेका छन् ।
दुई दिन लगाएर उमाकुण्ड गाउँपालिका–१ गुम्देल लाछेवरका आङनिमा शेर्पा नामसारीको काम लिएर गाडी रिर्जभ गरी परिवारका सदस्य समेत लिएर सदरमुकाम मन्थली आएको भएता पनि काम नहुँदा त्यतकी खाली हात फर्कनु परेको शेर्पाले बताए । उनले भने– वर्षाले गर्दा रुटमा चल्ने भाडाका गाडी गाउँसम्म चल्दैन । भाडाका गाडी नहुँदा वाध्य भएर ३० हजार रुपैयाँमा आतेजाते तिर्ने गरी गाडी रिर्जभ गरेर काम हुन्छ की भनेर सदरमुकामसम्म आए । कार्यालय प्रमुख नभएको भन्दै आफ्नो काम नहुँदा आफु छागाबाट खसेजस्तै भएको शेर्पाले सुनाए ।
हाल उक्त कार्यालय निमित्तको भरमा संचालन हुँदै आएता पनि प्रमुख नहुँदा नागरिकहरुको कामहरु रोकिएका छन् । प्रमुख नहुँदा कार्यालयवाट निर्णय गर्नुपर्ने कामहरू नामसारी, घर कायम, संशोधन लगायतका कामहरु रोकिएको मालपोत कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख दामोदर सुवेदीले जानकारी दिए ।
उनले भने– अहिले कार्यालय प्रमुख नहुँदा राजीनामा पास, दृष्टि बन्धक, बकस पत्र, लगायतका सामान्य कामहरू भएका छन् । त्यसवाहेकका कामहरु भने हुन सकेका छैनन् । कार्यालयमा काम लिएर टाढा टाढावाट आएका सेवाग्राही प्रमुख नहुँदा त्यतिकै फर्कने गरेका छन् । हामीले तत्काल कार्यालय प्रमुख पठाइदिन वा यहीँ भएका जेष्ठ कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिन परिपत्र पठाउँदा मन्त्रालयले नयाँ प्रमुख पठाउने जानकारी दिएको भएता पनि अहिलेसम्म प्रमुख नआएको सुबेदीले बताए ।
मालपोत प्रमुख नहुँदा कार्यालयवाट हुने काम रोकिएकाले वैदेशिक यात्रा तय गरेका विद्यार्थीहरु समेत रोकिनु परेको रामेछाप नगरपालिका–६ ओख्रेनीका रोशन पाख्रीनले जानकारी दिए । उनले भने– जिल्लावाट सरुवा भएर अन्यत्र जिल्लामा प्रमुख पठाउन सक्ने मन्त्रालयले उक्त स्थानमा नयाँ प्रमुख पठाउन सक्नुपर्ने हो । नयाँ प्रमुख पठाउन नसक्ने हो भने सो कार्यालयमा कार्यरत जेष्ठ कर्मचारीलाई कामकाज गर्ने गरी जिम्मावारी दिनुपर्ने हो । दुईवटै काम गर्न नसक्ने कस्तो मन्त्रालय हो उनले प्रति प्रश्न गरे ?
कार्यालयमा ४० दिनदेखी कार्यालय प्रमुख नहुँदा सेवा लिन आएका जिल्लाका दुरदराजका धेरै नागरिकहरुले दुःख पाएका लेखापढी व्यवसायी दीपकराज दाहालले जानकारी दिए । उनले भने– नागरिकहरु काम होला भनेर धेरै रकम खर्चेर सदरमुकाम आउने गरेका छन् । प्रमुख नहुँदा काम विहिन भएर पुनः घर फर्कन सेवाग्राहीहरु वाध्य भएको दाहालले बताए ।