रामेछापका जनप्रतिनिधि र कर्मचारी विरुद्ध अख्तियारमा ३६ उजुरी दर्ता

रामेछाप । पछिल्लो समय रामेछापका स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न शिर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बद्रिवासमा ३६ वटा उजुरी दर्ता भएका छन् ।

स्थानिय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सडक निमार्ण, भवन निमार्ण, औषधी खरिद र कर्मचारी भर्ना लगाएतका कार्यहरुमा भ्रष्टाचार गरी कानुन विपरीत रकम असुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने संख्यामा बृद्धि हुँदै गएको छ । स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुले कुनै प्रवाह नै नगरी भ्रष्टाचार गरेको भन्दै नागरिक स्तरवाट उजुरी दिदै आएका छन् ।

जसमा रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तहहरु मध्ये सबैभन्दा बढी उजुरी पर्ने स्थानिय तहमा खाँडादेवी गाउँपालिका पहिलो रहेको छ । खाँडादेवी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी विरुद्ध १२ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बद्रिवासमा दर्ता भएका छन् ।

दर्ता भएका उजुरी मध्ये अधिकासं उजुरी भ्रष्टाचार जन्य रहेका छन् । जसमा हालसम्म २ वटा उजुरी फस्र्योट भएको र बाँकी १० वटा उजुरी अनुसन्धानकै क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बद्रिवासका सूचना अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

त्यसैगरी दोरम्वा शैलुङ्ग गाउँपालिकामा ११ वटा उजुरी दर्ता भएका छन् । उजुरी परेको सवैको अनुसन्धान कार्य भइरहेकाले एउटा पनि उजुरी फस्र्योट हुन सकेको छैन । त्यस्तै मन्थली नगरपालिकामा ५ वटा उजुरी दर्ता भएकामा हालसम्म एक वटा मात्रै उजुरी फस्र्योट भएको अन्य उजुरीको हकमा अनुसन्धान प्रक्रिया चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बद्रिवासले जनाएको छ ।

यसैगरी रामेछाप नगरपालिकामा २ वटा, उमाकुण्ड गाउँपालिकामा १ वटा, गोकुलगंगा गाउँपालिकामा १ वटा, सुनापति गाउँपालिकामा २ वटा र लिखु तामाकोशी गाउँपालिकामा २ वटा भ्रष्टाचार जन्य उजुरी दर्ता भएका छन् । यी सवै उजुरीको अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

अख्तियार कार्यालयमा दर्ता भएका यी उजुरीहरु मध्ये केही उजुरी गत आर्थिक वर्ष २०८०÷०८१ मा जिम्वेवारी सरेर आएका र चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन र भदौ महिनामा दर्ता भएका गरी हालसम्म ३६ वटा उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

Scroll to Top