गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानी स्थित भदौरेमा हिजो दिउँसो भएको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

गाडी दुर्घटनामा परी मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य पदममाया नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भिर घाइते भएका सोही वडाका ६९ बर्षिय दिलीपकुमार बरुवालको धुलिखेल अस्पतालमा उपचारको क्रममा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

हिजो दिउँसो सदरमुकाम मन्थलीवाट मन्थली नगरपालिका–४ सालु तर्फ जादै गरेको बा १८ च १८३९ नम्वरको डबल क्याव वलेरो गाडी सुनारपानीको भदौरेमा दुर्घटना भएको थियो । गाडीमा सवार चालक सहित ६ जना घाइते भएका थिए । घाइते मध्ये चालकको अवस्था पनि गम्भिर भएकाले उनलाई छाउनी अस्पतालमा रिफर गरिएकोमा उनको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाडीमा सवार अन्य घाइतेहरुको मन्थली स्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको छ । कच्ची सडकमा गुड्दै गरेको गाडी अकस्मात सडकवाट करीव १ सय ५० मिटर तल भिरमा खसेको थियो ।

गाडी दुर्घटनामा परी वडा सदस्यको मृत्यु पश्चात मन्थली नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । वडा सदस्यको दुर्घटनापछि शोक बक्तव्य मार्फत नगरपालिकाले एकदिन सार्वजनिक विदा दिएको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए ।

Scroll to Top