बाढीले बगाएको खुर्कोटको पुल जोडियो,शनिवारबाट यातायात संञ्चालन हुने

रामेछाप । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको मोटरेवल पुलको आधा भाग बगाएपछि उक्त पुल पुनः मोडुलर प्यानल ब्रिज राखेर नेपाली सेनाले बुधवार साँझ दुई जिल्लालाई जोडेको छ ।

नदीले बगाएको खुर्कोटको मोटरेवल पुल तत्काल निमार्ण गरी यातायात सहज बनाउने गरी नेपाल सरकारले उक्त पुल बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो । सरकारले क्षतिग्रस्त पुल निमार्ण गर्ने जिम्मा दिएसँगै नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले प्राविधिक काम शुरु गरी बुुधबार बेलुुका एमपिवि (मोडुलर प्यानल ब्रिज) राखेर दुुई जिल्ला जोड्न सफल भएको नेपाली सेना चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले जानकारी दिए ।

३ सय ६० फिट लम्बाई भएको उक्त पुलको आधा भाग १ सय ८० मिटर नदीले बगाएको थियो । सेनाले असोज २२ गतेबाट पुल निमार्णको कामको थालनी गरेको उक्त पुल सेनाले नौ दिनको दिन दुई जिल्ला जोड्न सफल भएको हो । उक्त पुल पुष्पलाल राजमार्ग अन्तर्गत एडिवीको सहयोगमा निमार्ण भएको थियो । उक्त पुल दुई जिल्लासँग जोडिएको भएता पनि अझै डेकिङ युनिट (जडान) काम हुन बाँकी रहेकाले शनिवारसम्म उक्त कार्य सकेर यातायातका साधन संञ्चालन गरिने गरी काम अघि बढेको नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले जानकारी दिए ।

असोज ११ र १२ गते परेको अविरल बर्षासँगै आएको बाढीले बनेपा– बर्दिवास वीपी राजमार्ग र रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुलमा समेत क्षति पुर्यापछि रामेछाप, सिन्धुली, दोलखा, ओखलढुुङ्गा, सोलुखुम्बुु, खोटाङ, भोजपुर, उदयपुर, काभ्रे र सिन्धुुपाल्चोक लगाएतका जिल्लाका नागरिकहरुलाई आवतजावतमा समस्या उत्पन्न भएको छ । खुर्कोटको पुल सुनकोशी नदीमा आएको बाढीले वगाएपछि अहिले वैकल्पीक रुट प्रयोग गरी सवारीसाधनहरु संञ्चालन हुँदै आएका छन् ।

खुर्कोटको पुल बाढीले वगाएपछि उक्त पुल निमार्ण गर्नको लागि रामेछापका प्रतिनिधिसभा सदस्य एवं ऊर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम)को पहलमा बगाएको पुल चाडै निमार्ण सम्पन्न हुन लागेको हो । प्रतिनिधिसभा सदस्य तामाङ आफै पुल निमार्णको लागि आवश्यक सामाग्री लिन काठमाण्डौंबाट हेटौडा पुगेर सामाग्री लिएर पुल निमार्णको स्थलमा आफै लागि परेका छन् ।

Scroll to Top