मन्थली बिमानस्थलमा रोकिएका पर्यटक हेली मार्फत लुक्ला उड्न थाले

रामेछाप । सोलुखुम्वु स्थित लुक्लाको मौसम खराव हुँदा उडान प्रभावित भएर रामेछापको सदरमुकाम स्थित मन्थली विमानस्थलमा चार दिनदेखी रोकिएका पर्यटकहरु हेलिकप्टर मार्फत लुक्ला उड्न थालेका छन् ।

सोलुखुम्बुको खुम्वु क्षेत्रमा जाने विदेशी पर्यटकहरु राजधानी काठमाण्डौंवाट रामेछापको मन्थलीमा रहेको विमानस्थलसम्म सडक मार्ग हुँदै आउने र मन्थली विमानस्थलवाट हवाईजहाज मार्फत सोलुको लुक्ला तर्फ जाने गरेका छन् । केही दिनदेखी लुक्लाको मौसम खराव भएकाले लुक्ला हिडेका करिव एक हजार पर्यटकहरु रामेछापको सदरमुकाम मन्थलीमा मौसम सुधारको पर्खाइमा बस्दै आएका छन् ।

चार दिनदेखी मौसम नखुल्दा रामेछाप देखी लुक्ला उडानमा समस्या हुँदै आएको छ । मौसम नखुल्दा हवाईजहाजको उडान प्रभावित हुँदै आएको छ । उडान प्रभावित हुँदा लुक्ला तर्फ जान थालेका पर्यटकहरु आफ्नो भिषा सकिन लागेको भन्दै केही पर्यटक सडक मार्ग हुँदै राजधानी काठमाण्डौं तर्फ फर्किन थालेका छन् भने लामो समयको भिषा भएका पर्यटकहरु अझै मौसम खुल्ने प्रतिक्षामा मन्थली विमानस्थल आसपासका होटल र होमस्टेमा पर्खिदै आएका छन् ।

केहीदिन देखी लुक्लाको मौसम खराव हुँदा हवाई जहाज चल्न नसकेपछि केही पर्यटकहरु हेलीकप्टर मार्फत लुक्ला जान थालेका नागरिक उड्डयन कार्यालय रामेछापका उप–प्रबन्धक हिरण शाहले जानकारी दिए । उनले भने– सोमवारदेखी लुक्लाको मौसम खरावी भएका कारण उडान प्रभावित हुँदै आएको छ । वुधवार (हिजो) केही उडान भएपछि पुनः मौसम खरावीका कारण उडान बन्द भयो । अहिले पनि लुक्लाको मौसम नखुलेका कारण उडान हुन सकेको छैन् । हवाईजहाज उडान हुन नसकेपछि केही पर्यटकहरु हेलीकप्टर मार्फत लुक्ला जान थालेका छन् । अहिले रामेछाप विमानस्थलमा विभिन्न पाँच कम्पनीका हेलीक्पटरले पर्यटकहरुलाई सेवा दिदै आएको उप–प्रबन्धक हिरण शाहले बताए ।

रामेछाप विमानस्थल हुँदै पर्यटकहरु बसन्त ऋतुको चैत्रको पहिलो हप्ता देखी जेठ मसान्तसम्म र शरद ऋतुको असोज महिनाको पहिलो हप्तादेखी मंसिर महिनाको १५ गतेसम्म सोलुको लुक्ला जाने गरेका छन् । रामेछाप विमानस्थलवाट तारा एयर, समिट एयर र सिता एयरले पर्यटकहरुलाई सेवा दिदै आएका छन् । लुक्लाको मौसम खुल्दा रामेछाप विमानस्थलवाट नियमित उडान हुँदै आएको थियो ।

Scroll to Top